हेटौंडा जेसीजद्वारा लागूऔषधविरुद्ध अभिमुखीकरण
हेटौंडा- हेटौंडा जेसीजले हेटौंडा–९ लामसुरेधाप स्थित सिआन महिला पुनःस्थापना केन्द्रमा लागूऔषधविरुद्ध अभिमुखीकरण गरेको छ ।जेसीजले हेटौंडा–९ स्थित टोल विकास संस्था र आमा समूहका प्रतिनिधिको उल्लेख्य उपस्थितिमा लागूऔषधविरुद्ध सचेतना जगाउँदै जेसीज सप्ताह २०२४ को छैठौँ कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा लागूऔषध दूव्र्यशनीका कारण, दूव्र्यशनीले व्यक्ति र समाजमा पार्ने नकारात्मक प्रभाव, कुलतबाट छुटकारा पाउने उपाय लगायतका विषयमा सिआनकी कार्यक्रम संयोजक सन्जु लामिछाने र डाइरेक्टर सौजन डिसीले सहभागीलाई सहजीकरण गरेका थिए ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरकी प्रहरीनिरीक्षक विमलाकुमारी कठायतको प्रमुख आतिथ्यता तथा हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कठायत र श्रेष्ठले लागूऔषध दूव्र्यसनी न्यूनीकरणका लागि समुदायका सबै मानिस जिम्मेवार भएको भन्दै त्यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
जेसीजका निवर्तमान अध्यक्ष श्रवणकुमार बर्तौला, पूर्वअध्यक्ष राजदेव बानियाँ, अध्यक्ष सल्लाहकार कृष्णराम न्यौपाने, स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थितिमा कार्यक्रम भएको जेसीजका कार्यकारिणी उपाध्यक्ष एवम् सप्ताहव्यापी कार्यक्रमका मूल कार्यक्रम संयोजक विवेकआनन्द न्यौपानेले जानकारी दिए । कार्यक्रमको संयोजन अनिस्क बानियाँले गरेका हुन् ।







