आज लक्ष्मीपूजा, घरघरमा भब्य दीपावली गरिंदै
हेटौंडा- नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीमाताको पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक लक्ष्मीपूजा गरी मनाइँदैछ ।सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताकाआधारमा लक्ष्मीपूजाको दिन बिहानै घर सफासुग्घर र लिपपोत गरी साँझ दीपावली गरेर लक्ष्मीमातालाई आमन्त्रण गर्ने गरिन्छ । विशेषगरी घरआँगन, झ्यालढोका, चोटाकोठा, संघार, कौसी, अटाली, मटान, भ¥याङलगायत स्थानमा सरसफाइ गरी साँझ दीपावली गरिन्छ ।
लक्ष्मीपूजा गरिने कात्तिक कृष्णऔंशीको रातलाई सुखरात्रि भनिन्छ । लक्ष्मीपूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मीमाता स्थापना गरी पूजागर्ने चलन छ । कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीमाताको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।दीपावली गरिसकेपछि पूजाकोठामा दियो, कलश र गणेश सहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीमाताको पूजा गर्ने चलन रहेको संस्कृतिविद् रामचन्द्र आचार्य ‘फुर्सती’ बताउँछन् ।
लक्ष्मीपूजापछि कन्याकेटी वा छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी टीका लगाएर दानदक्षिणा दिने चलन रहेको फुर्सतीले जानकारी दिए । लक्ष्मीपूजाको दिन घर, पसल, बयवसायिक प्रतिष्ठानमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास रहेको छ ।लक्ष्मीपूजा सन्ध्याकालमा गीरनछ । मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको संस्कृतिविद् फुर्सतीले जानकारी दिए ।
साँझ युवायुवतीहरु समूह बनाई घर–घरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँचदिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको मान्यता रही आएको छ ।भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ । लक्ष्मीपूजाका अवसरमा दीपावली गरी झिलीमिली बनाइन्छ ।







