राप्तीतटमा छठ पूजाको तयारी अन्तिम चरणमा
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१, स्थित राप्तीतटमा छठ पर्वको पूजाका लागि पन्डाललगायत संरचना निर्माणको काम धमाधम चलिरहेको छ ।राप्तीपुलको उत्तरतर्फ खोलाकिनारमा पण्डाल टाँग्ने, राजमार्गसँगै गेट निर्माण गर्ने, किनारसम्म पूजाका लागि जाने भक्तजन र दर्शनावलम्बीको सहजताका लागि अस्थायी गोरेटो बनाउने कार्य गरिएको छठ पूजा समारोह समितिका संयोजक रवि गुप्ताले जानकारी दिए । हेटौंडाको बुद्धचोकदेखि राप्तीतटसम्म सडकको दायाँबायाँ बत्ती बालेर झिलिमिली बनाइएको छ ।
बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउनका लागि ६ सय २० फिट लामो पन्डाल टाँगिएको छ । राप्तीखोला ठूलो भएकाले व्यवस्थित गर्न केही समय बढी लागेको र तयारी अन्तिम चरणमा पुगेको उनले बताए । तटमा टाँगिएको पन्डालमा ७ सयजना भन्दा बढी व्रतालु अट्ने क्षमताको छ । व्रतालुहरु बिहीबार रातभर त्यही पन्डालमुनि जाग्राम बसेर पूजा गर्नेछन् । छठ पर्वमा व्रतालु र अवलोकन गर्न जानेहरुको संख्या हजारौंको हुनेगर्छ । गत वर्ष ६० हजारभन्दा बढीको सहभागिता रहेको आयोजकको दाबी छ ।
तराई÷मधेश, पहाड र हिमाल जोड्ने छठ पर्व अहिले सेतुको रुपमा रहेको छ । हेटौंडामा बर्सेनि छठपर्व मनाउनेको संख्या बढ्दै गएको छ । यहाँ बसोबास गर्ने मधेशका हुन् वा पहाडका अधिकांश छठपर्वको दिन राप्तीतट पुग्ने गर्छन् । सूर्यदेवको आराधना र उपासना गर्ने कयौं व्रतालुहरु पहाडीया छन् । छठपर्व विशेषगरी तराईबासीले मनाउने गरे पनि पछिल्लो समय हेटौंडामा तराई तथा पहाडी दुवै समुदायले भक्तिभावले मनाउने गरेको सुशील सिनोरियो बनियाँले बताए ।
नियम निष्ठाका साथ मनाइने गरिएको यस पर्वको पहिलो दिन आइतबार व्रतालु महिला आत्मशुद्धि गर्छन् । लसुन र प्याज पनि नखाने, अरुवाअरुवाइन अर्थात् शुद्ध भोजन गर्छन् । यसलाई ‘नहायखाय’ भनिने गरिएको छ । दोस्रो दिन सोमबार दिनभर उपवास बसेर बेलुकीको समयमा नयाँ माटोको चुलोमा पूजाका लागि खीर पकाउने र सोही खीर घरको देवीदेउतालाई अर्पण गरेपछि परिवारका सदस्यबीच प्रसादका रुपमा वितरण गरी व्रतालुले आफू पनि प्रसादकै रुपमा ग्रहण गरेर व्रतलाई निरन्तरता दिने गरिन्छ ।
पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि चार दिनको यो पर्व विधिवत्रुपमा सम्पन्न हुनेगर्छ । यस पर्वको मुख्य विशेषतामा शक्तिरुपी माता छठ र संसारलाई प्रकाशमान पार्ने सूर्यदेवको संयुक्त रुपमा पूजा गरेर पर्व मनाउने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको संयुक्त मधेशी सेवा समाजका सचिव नन्दलाल दास बताउँछन् । यो पर्वको व्रत बसेमा मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण हुने विश्वास छ ।
महाभारतका अनुसार द्रौपदीसहित पाण्डव अज्ञातवासमा रहँदा गुप्ताबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।सूर्यपुराणअनुसार सर्वप्रथम पत्नी अनुसुईयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।