मनहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सैनिक घाइते
हेटौंडा- मनहरी गाउँपालिका–९, खरंगा नजिकै पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुईजना सैनिक कर्मचारी घाइते भएका छन् ।चितवनबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश–०३०३४ प २८९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सल्यान बाघचौर नगरपालिका–४ डाँडागाउँ निवासी २९ वर्षीय गणेश पुन र पछाडि सवार रुपन्देही बुटवल उपमहानगरपालिका–१३ बयलबास निवासी २८ वर्षीय निखिल पाण्डेलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएको छ ।
गणेश पुनको शरीरका विभिन्न भागमा चोट लागेको छ भने निखिल पाण्डेको टाउको, हात, खुट्टामा चोटपटक लागेको छ । प्रहरीका अनुसार कार्तिक १९ गते साँझ ५ः३० बजे भएको दुर्घटनामा घाइते भएका दुवैजनाको परिचय मध्यपूर्वीपृतना शिक्षालय, सर्लाही लालबन्दीमा तालिमरत लेसनायकको रुपमा खुलेको छ । दुर्घटनामा मोटरसाइकल अनियन्त्रित भएको कारण देखिएको छ ।