राक्सिराङमा जुनसुकै गतिविधि गर्न पालिकाको स्वीकृति अनिवार्य

साझाकुरा
२०८१ कार्तिक २१, बुधबार १०:३१

हेटौंडा- मकवानपुरको विकटक्षेत्र राक्सिराङ गाउँपालिकामा कुनैपनि गतिविधि र कार्यक्रम सञ्चालन गर्दा गाउँपालिकाको स्वीकृति अनिवार्य भएको छ ।गाउँपालिकाभित्र अनधिकृत व्यक्ति, संघ, संस्थाका गतिविधि रोक्न गाउँपालिकाले सूचना जारी गरेर समन्वय गरेर मात्रै गतिविधि सञ्चालन गर्न आग्रह गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २५ अनुसार गैरसरकारी संघसंस्था, उपभोक्ता समिति, सहकारी संस्थालगायतका सामाजिक तथा सामुदायिक संघसंस्थाले स्थानीय तहसँगको समन्वयमा रही कार्य गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

कानुनी व्यवस्थाको उल्लंघन हुने गरी नियामनकारी निकायको रुपमा रहेका जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको समन्वयविना नै विभिन्न अनधिकृत व्यक्ति, संस्थामार्फत् राक्सिराङ गाउँपालिकाभित्रका विभिन्न स्थानका विपन्न जातजाति, भाषाभाषि, धार्मिक समुदायको नाममा खाद्यपदार्थ, लत्ताकपडा वितरण गर्ने, चन्दा सहयोग गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने, विभिन्न सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन हुने गरेको भन्दै गाउँपालिकाले समन्वय गरेर मात्रै गतिविधि गर्न आग्रहगरेको हो ।

अवैधानिक गतिविधिका कारणले सिर्जना हुनसक्ने प्रतिकुल परिस्थिति, समुदायको परनिर्भरता बढ्ने, लाभग्राही छनोटमा पारदर्शिता नहुने, सञ्चालक व्यक्ति वा संस्था जवाफदेही नहुने जस्ता अवस्थालाई मध्यनजर गर्दै त्यस्ता गतिविधि निरुत्साहित गर्न गाउँपालिका लागिरहेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । उनले गाउँपालिकासँगको समन्वय र स्वीकृतिबेगर गतिविधि सञ्चालन हुन नदिन सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, जनप्रतिनिधि, नगरप्रहरी इकाई र सरोकारवालालाई अपिल गरेको जानकारी दिए ।

गाउँपालिकाभित्र बसोवास गरिरहेका अति सीमान्तकृत, विपन्न समुदाय, असहाय बालबालिका, बेसहारा अशक्त वृद्धवृद्धा, एकल महिला, अपा·ता भएका व्यक्ति, आर्थिक, सामाजिकरुपले पिछडिएका समुदाय, विपद्को कारणले धनजनको क्षति व्यहोरेका परिवारलगायत जोखिममा रहेका समुदायको जीवनस्तर उत्थानमा गाउँपालिका सदैव तत्पर रहेको पनि उनले स्पष्ट पारे । उनले पालिकासँग सहकार्य गर्न इच्छुक व्यक्ति वा संस्थाले स्वीकृति लिई एकद्वारप्रणालीबाट आफ्ना गतिविधि सञ्चालन गर्न आह्वान गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*