मनहरीमा बस दुर्घटना, ३५ यात्रु घाइते
हेटौंडा- मकवानपुरको पश्चिमीक्षेत्र मनहरीमा बुधबार बिहानै भएको बस दुर्घटनामा परी ३५ जना घाइते भएका छन् । बिहान ४ बजेको समयमा मनहरी–७ समिडाँडास्थित पूर्बपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएको जिल्लाप्रहरी कार्यालय मकवानपुरका प्रहरीप्रवक्ता प्रहरीनायवउपरीक्षक श्यामु अर्यालले बताए ।काठमाडौंबाट महोत्तरीको लागि आउँदै गरेको प्रदेश २–०३–००१ ख ३६२९ नंबरको बस आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल दुर्घटना हुँदा बसमा सवार रहेका ४० जनामध्ये ३५ जना यात्रु घाइते भएका हुन् ।
दुर्घटनामा घाइते भएका ३५ मध्ये २८ जनाको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रवक्ता अर्यालले जानकारी दिए । जसमध्ये १३ जनाको अवस्था मध्यम र १५ जनाको अवस्था सामान्य रहेको उनको भनाई छ । यसैगरी मनहरी अस्पतालमा ३ जना सामान्य अवस्थाका घाइतेको उपचार भइरहेको र हेटौंडा अस्पतालमा उपचाररत ४ जना घाइतेको डिस्चार्ज भइसकेको प्रवक्ता अर्यालले बताए । बसका चालक महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर २ का ३७ वर्षीय जयकिशोर कापरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।







