परिवारका सबै गुमाएकी जानकीको सहारा बन्यो आश्रम

अशोक बजगाईं
२०८१ कार्तिक २३, शुक्रबार ०९:१३

 हेटौंडा- हेटौंडाको मानवसेवा आश्रम, जहाँ सडकपेटी एवम् सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन बिताउन विवस सहयोगापेक्षीहरु उद्दारपछि आश्रय लिइरहेका छन् ।विभिन्न पृष्ठभूमिबाट सडकमा पुग्न बाध्य बनेकाहरु जो सरकारी जागिरे, रोजगारीको शिलशिलामा बिदेशिएकादेखि ब्रिटिश आर्मीसम्म छन् । जसमध्यकी एक हुन् जानकी गजुरेल महर्जन । जसको यात्रा विदेश, सडक, अनि मानवसेवा आश्रमसम्म रह्यो । जीवनका कठिन परिस्थितिलाई पारगर्दै अघि बढ्न सकिन्छ भन्ने कुरा प्रमाणित गर्ने एक प्रेरणादायी पात्र हुन् जानकी गजुरेल महर्जन ।

आफ्ना श्रीमान र छोरीको आकस्मिक मृत्युले जानकीलाई गहिरो डिप्रेशनमा पु¥यायो, त्यो समय उनको जीवनमा एक अन्धकार युग नै थियो । तर, मानवसेवा आश्रमले उनलाई त्यो अन्धकारबाट बाहिर निकाल्यो । मानवसेवा आश्रमले जानकीलाई सम्हाल्दै सहयोग र आश्रय दियो । आश्रमको हृदयस्पर्शी समर्थन र मद्दतले आफूलाई आफ्नो मानसिक स्वास्थ्यमा सुधार ल्याउन सफल भएको उनले सुनाइन् ।

फलस्वरुप आज जानकीको जीवनमा नयाँ आशा जागेको छ । उनले मानवसेवा आश्रमको लागि धुप बनाउँदै आएकी छन् । त्यही धुपको सुगन्ध आश्रमको गेटबाट भित्र पस्नासाथ फैलिन्छ, जसले आगन्तुक र आश्रममा आश्रितलाई शान्ति र आनन्दित महसुस गराइरहेको छ । जानकीका लागि धुप बनाउनु एउटा काम मात्र नभई आफ्नो जीवनको नयाँ उद्देश्यको खोजी हो । उनी आश्रममा आश्रय लिने अन्यलाई सहायता पनि गर्छिन, जसबाट मानवसेवा आश्रमको प्रयासलाई साकार पार्न केही हदसम्म भएपनि मद्दत पुगिरहेको छ ।

बालाजु घर भएकी जानकी ईजरायलमा ६ बर्ष काम गरेर २०६६ सालमा स्वदेश फर्किएकी थिइन् । स्वदेश फर्किएको २÷३ बर्षमा नै आफ्नी २० वर्षकी छोरी गुमाएको उनले बताइन् । यो घटनाले उनलाई डिप्रेशनमा पु¥याएको उनले सुनाइन् । त्यसको ५ बर्षपछि जानकीले क्यान्सर रोगबाट ग्रसित श्रीमान पनि गुमाएको बताइन् । श्रीमानको मत्युपछि आफ्नो जीवन सडकमा पुगेको कारुणीक दिन सम्झिइन् ।

अँध्यारो छाएको जानकीको जीवनमा दिनको उज्यालो छाउने माध्यम बन्यो, हेटौंडा मुख्य कार्यालय रहेको मानवसेवा आश्रम । जसले जानकी जस्तै थुप्रै वेसहारालाई सहारा दिइरहेको छ । मुख्य कार्यालय हेटौंडा रहेको यस आश्रममा मात्र २०७ जना आश्रित छन, जसमा २४ जना बालबालिका छन् ।आश्रमले हालसम्म १० हजार भन्दा बढीको उद्दार गरिसकेको छ । ३ हजार भन्दा बढीको पारिवारिक पुनरमिलन गराईसकिएको मानवसेवा आश्रम मुुख्यकार्यालय हेटौंडाकी संयोजक ईशा थापाले जानकारी दिइन् । जानकी जस्ता हजारौं व्यक्तिलाई उद्दार गरेर मानवसेवा आश्रमले मानवताको एउटा उदाहरण प्रस्तुत गरिरहेको छ ।

मानवसेवा आश्रमले २०८२ सालभित्र नेपाललाई सडक मानवमुक्त बनाउने लक्ष्य लिएको छ । २०६९ भाद्र १३ गतेदेखि यो अभियान सुरु गरेको आश्रमले अहिले १७ सय भन्दा बढीलाई आश्रय प्रदान गरिरहेकोे छ । देशभर १९ जिल्लामा फैलिएको आश्रमको हाल २४ वटा सेवाकेन्द्र छन् । यस आश्रमको प्रयासले परिवर्तनको नयाँ युगको द्वार खोल्ने विश्वास गर्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*