असोजको बाढीबाट सबैभन्दा बढी क्षती बागमती प्रदेशमा
हेटौंडा- गत असोज १२ र १२ को बाढीपहिरोका कारण ४७ अर्ब बढी क्षति भएको अनुमानित तथ्यांक राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्था प्राधिकरणले सार्वजनिक गरेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा १६१ र कोशीमा १२१ गरी कूल ३१६ विपद्का घटना भएका छन् । मधेश, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा क्रमशः १५, ११, ५ र ३ वटा घटना छन् । मानवीय क्षतिको आधारमा २३८ जनाको मृत्यु भएको छ भने सबैभन्दा बढी बागमतीमा २०८ र कोशीमा २० जनाको मृत्यु भएको छ । बागमतीका १४ र कोशीका चार गरी १८ जना बेपत्ता छन् । यसबाहेक, १७० जना घाइते भएका थिए, बागमती र कोशी प्रदेशमा क्रमशः १५४ र १३ जना घाइते भएका थिए ।
कुल ५५१ घर ध्वस्त हुनुकासाथै ८५५ घर प्रभावित भएका छन् । सबैभन्दा बढी बागमतीमा ४२४ घर भत्किएका छन् भने ७४३ प्रभावित भएका छन् । कोशीमा ११७ घर ध्वस्त भएका छन् भने १११ प्रभावित भएका छन् । मधेस, लुम्बिनी र गण्डकीलगायत अन्य प्रदेशमा तुलनात्मकरुपमा कम क्षति भएको छ । कुल १ हजार २८८ पशुधन नष्ट भएको थियो । सबैभन्दा बढी क्षति बागमतीमा भएको छ । यहाँ १ हजार २०५ पशुचौपाया प्रभावित भएका छन् ।
प्रदेशहरुमा कुल अनुमानित ४५ करोड ८० लाख ७१ हजार ५० वित्तीय क्षति थियो । सबैभन्दा बढी कोशी प्रदेशले ४३ करोड ४७ लाख २९ हजार ५० रुपैयाँ र गण्डकी प्रदेशले १ करोड ५३ लाख ६० हजार रुपैयाँ नोक्सानी व्यहोरेका छन् । बागमती प्रदेशको अनुमानित क्षति ४० लाख ६२ हजार रहेको छ भने अन्य प्रदेशमा तुलनात्मक रुपमा कम क्षति भएको छ ।
प्राधिकरणले भौतिक पूर्वाधार, सामाजिक र उत्पादनशील क्षेत्र गरी तीन क्षेत्रगत आधारमा तयार पारिएको प्रतिवेदनअनुसार भौतिक पूर्वाधारतर्फ सबैभन्दा बढी ३८ अर्व ९२ करोड ३४ लाख ३५ हजार बरावरको क्षति भएको अनुमानित तथ्यांक छ । भौतिक पूर्वाधारतर्फ पनि सबैभन्दा बढी राजमार्गमा क्षति भएको छ । जसमा ४१ राजमार्गमा क्षति पुगेको छ । जसको मर्मतसम्भार मात्रै २७ अर्ब ९८ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
त्यस्तै, २६ हाइड्रोपावर कम्पनीमा ३ अर्ब १ करोड ८० लाख क्षति भएको छ । दूरसञ्चार क्षेत्रतर्फका ४४६ पूर्वाधारमा क्षति हुँदा १५ करोड २३ लाख बराबरको क्षति भएको छ । खानेपानी तथा सरसफाइतर्फ १ हजार ६७८ ओटा संरचनामा ५ अर्ब ९० करोड ६० लाख मूल्य बराबरको क्षति भएको छ । भने पुलपुलेसातर्फ ४४ संरचनामा क्षति पुगेको छ । जसमा १० अर्ब ४२ करोड बराबरको क्षति भएको छ ।
सामाजिक क्षेत्रतर्फ कुल १६ हजार २४३ व्यक्तिहरु प्रभावित भएका छन् । ५ हजार ९९६ घर ध्वस्त भएभने १३ हजार ४५ घरमा आंशिक क्षति भएको छ । विनाशले १० हजार ८०७ परिवारलाई विस्थापित गरेको छ । स्वास्थ्यक्षेत्रमा ६ ओटा पूर्णरुपमा नष्ट भएका छन् भने ४३ वटा स्वास्थ्य संस्था आंशिकरुपमा नष्ट भएका छन् । ६ ओटा विद्यालय पूर्णरुपमा ध्वस्त भएका छन् भने १३६ वटा विद्यालय आंशिकरुपमा क्षतिग्रस्त भएकाछन् ।
जसले गर्दा बालबालिकाको शिक्षामा थप बाधा पुगेको प्रतिवेदनमा उल्लेख छ ।धेरै जिल्लामा मानवीय क्षति भएको छ । विपद्मा धादिङ, काभ्रे र ललितपुरमा सबैभन्दा बढी २४९ जनाको मृत्यु भएको छ भने १७८ जना घाइते भएका थिए । भने १८ जना वेपत्ता भएका र १७० भन्दा बढी व्यक्तिको उद्दार गरिएको थियो । उद्दारका लागि १४ हजार ८०० भन्दा बढी प्रहरी प्रभावित क्षेत्रमा तैनाथ गरिएका थिए । उत्पादनशील क्षेत्रतर्फ कृषि र पशुपन्छीमा ठूलो नोक्सानी ब्यहोर्नु परेको छ । प्रकोपबाट सञ्चयी आर्थिक क्षति कुल ७ अर्ब १५ करोड रुपैयाँ छ ।
प्रतिवेदनअनुसार २६ हजार ६ सय ९८ पशुचौपायासमेत ६५ हजार ३ सय ८० हेक्टर खेतीयोग्य जमिन प्रभावित भएका छन् । यसबाट ५ अर्ब ८८ करोड २८ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ । यसका साथै ७ वटा सिँचाइ आयोजना प्रभावित भएका छन् जसका कारण १ अर्ब ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ । कृषिमा परेको यो प्रभावले खाद्यसुरक्षा र भूमि र पशुधनमा निर्भर किसानलाई खतरामा पार्ने प्रतिवेदनमा उल्लेख छ ।
पूर्वाधारको पुनर्निमाण, विस्थापित जनसंख्यालाई सहयोग र अर्थतन्त्रलाई पुनर्जीवन दिने कार्यलाई प्राथमिकता दिई प्रभावित क्षेत्रको कमजोरी र भविष्यमा हुने जोखिम न्यूनीकरणका लागि व्यापक विपद् पूर्वतयारीका उपायलाई महत्व दिनुपर्ने प्रतिवेदनले सुझाएको छ । प्रतिवेदनमा सरकारले गर्नुपर्ने पूर्वकार्य तथा विपद्पछिको व्यवस्थापनमा ११ बुँदे सुझाव दिएको छ ।







