मोटरसाइकल सबैभन्दा ढिलो चलाएर कार्कीले जिते पुरस्कार
हेटौंडा- चैनपुर जेसीज मनहरीको जेसीज सप्ताहअन्तर्गत बुधवार आयोजित बिस्तारै मोटरसाइकल चलाउने प्रतियोगितामा सुरज कार्की प्रथम भएका छन् ।१४ सहभागीलाई अघि लगाउँदै ढिलोसम्म मोटरसाइकल चलाएर उनले प्रथम स्थान हासिल गरेका हुन् । प्रतियोगितामा अनिल थापा द्वितीय र निमेष केसी तृतीय भए । मोटरसाइकल बिस्तारै चलाएर पनि पुरस्कार जित्न सकिन्छ र गन्तव्यमा पुग्न सकिन्छ भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरिएको जेसीज सप्ताह मूल कार्यक्रम संयोजक कार्यकारिणी उपाध्यक्ष सुरेश गौतमले जानकारी दिए ।
कार्यक्रम संयोजक मनिष पौडेलको संयोजकत्व एवम् चैनपुर जेसीज मनहरीका अध्यक्ष रविन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका–४ का वडाअध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता रहेको थियो । वडाअध्यक्ष थापाले पछिल्लो समय तीव्रगतिमा मोटरसाइकल चलाएकै कारण धेरै युवाले अकालमा ज्यान गुमाइरहेको स्मरण गर्दै यस्ता कार्यक्रमले सचेतना फैलाउन मद्दत पुग्ने बताए । जेसीजसँगको सहकार्यमा खुला फुटबल प्रतियोगिता समेत सन्चालन भैरहेको भन्दै उनले आगामी दिनमा समेत जेसीजसंग सहकार्य जारी राख्ने बताए ।







