मकवानपुरको प्रमुख समस्या लागूऔषध

साझाकुरा
२०८१ कार्तिक ३०, शुक्रबार ११:४५

हेटौंडा- मकवानपुरका प्रहरीप्रमुख (प्रहरीउपरीक्षक) विश्वराज खड्काले लागूऔषधको कारण धेरैले अकालमै ज्यान गुमाउन बाध्य रहेको बताएका छन् ।चैनपुर जेसीज मनहरीको जेसीज सप्ताहअन्तर्गत बिहीवार महेन्द्रज्योति माविमा भएको लागूऔषध दुव्र्यसन सम्बन्धी सचेतनामुलक कार्यक्रमको प्रमुखअतिथि रहेका एसपी खड्काले पछिल्लो समय लागूऔषध ठूलो चुनौतीको रुपमा रहेको बताएका छन् । ‘मकवानपुर जिल्ला लागूऔषध उत्पादन, सेवन र ओसारपसारमा अग्रस्थानमा रहेको छ,’ एसपी खड्काले भने ।

खड्काले थपे, ‘म आएपछि लागूऔषध नियन्त्रणमा विशेष अभियान सञ्चालन गरेको छु । पछिल्लो समय लागूऔषध हाम्रो मुख्य चुनौती बनेको छ । यसकै कारण धेरैले अकालमै ज्यान गुमाइरहेका छन् ।’ लागूऔषध नियन्त्रणका लागि परिवारसहित जनप्रतिनिधिले विशेष अभियान सञ्चालन गर्नुपर्ने उनको सुझाव थियो । कार्यक्रममा मनहरी गाउँपालिका–३ का वडाअध्यक्ष अनन्तप्रकाश अर्यालले लागूऔषध नियन्त्रणका लागि मनहरी गाउँपालिका र वडाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

मनहरी गाउँपालिकामा लागूऔषध प्रयोगकर्ता बढेको पाइएको उनको भनाइ थियो । चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारीले लागूऔषधसम्बन्धी सचेतनामुलक कार्यक्रम योजनाबद्ध सञ्चालन गर्नुपर्ने औंल्याए । उनले प्रहरीले मनहरी गाउँपालिका क्षेत्रमा विशेष ध्यान दिन अनुरोध गरे ।जेसीजका अध्यक्ष रविन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्रज्योति माविका अध्यक्ष अष्टकुमार बर्तौला, प्रधानाध्यापक गोविन्दप्रसाद चौलागाईं, जेसीज सल्लाहकार बिदुर थापा, जेसीजका कार्यकारिणी उपाध्यक्ष सुरेश गौतमलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम बालकृष्ण बिष्टको संयोजकत्वमा भएको हो । चैनपुर जेसीज मनहरीले जेसीज सप्ताहसँगै खुला फुटबल प्रतियोगिता समेत आयोजना गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*