तोरीखेतीमा किसानको आकर्षण बढ्दै

साझाकुरा
२०८१ कार्तिक ३०, शुक्रबार ११:४७

हेटौंडा- मकवानपुरका हेटौंडा उपमहानगरपालिकासहित अधिकांश स्थानीय तहका किसान तोर ी खेतीप्रति अग्रसर भएका छन् । विगतमा आलुखेती हुने खेतमा तोरी लगाइ
रहेका छन्, किसानले ।हेटौंडा–११ तल्लोताल र हेटौंडा–१२ आल्दमारका अधिकांश किसानले तोरीखेती गरेका छन् । तेलहन बालीको रुपमा रहेको तोरीखेतीप्रति मकवानपुरगढीका किसानको पनि आकर्षण बढेको छ । नगदेबाली आलु लगाउन छोडेर तोरीखेतीमा किसानको आकर्षण बढ्नुलाई बजारको महंगी कारणका रुपमा लिन सकिन्छ । तोरीको तेलको मूल्य छोइनसक्नु भएपछि किसानले तोरी उत्पादन गर्ने थालेका हुन् ।

एउटा सामान्य परिवारले तोरीको तेल किनेर खाननसक्ने अवस्था आइसकेको मकवानपुरगढी–५ का सुरेन्द्र हुमागाईं बताउँछन् । मकवानपुरगढीको ५ नम्बर वडाको धादिङ–भालुखोला फाँट, ३ नम्बर वडाको धमिले फाँटमा तोरी लगाउने बढेका हुन् । हेटौंडाको १६, १७ र १८ नम्बर वडास्थित चुच्चेखोला, राजदेवी, दोभानचौर फुर्केचौर फाँटमा पनि आलु भन्दा तोरीखेती गर्नेको संख्या बढ्दैछ ।

नेपालमा दुई लाख ६० हजार ३०७ हेक्टर क्षेत्रफलमा तेलहन बालीलगाउने काम गरिँदै आएको छ । यहाँ वार्षिक दुई लाख ८० हजार ५३० मेट्रिक्टन उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । तेलहन बाली गरिने क्षेत्रमध्ये ९० प्रतिशत क्षेत्रमा तोरी खेती गरिने गरिएको छ । १० प्रतिशत क्षेत्रफलमा सूर्यमुखी, सरस्यूँ, तिल, आलसजस्ता तेलहन बाली गरिने गरिन्छ । कैलाली, बर्दिया र दाङमा विशेषगरी तोरीखेती बढी गर्ने जिल्लाको रुपमा चिनिन्छ ।

पहिलेपहिले तोरीका लागि प्रख्यात जिल्ला मानिएको चितवन र मकवानपुरमा पछिल्ला वर्षमा भने उत्पादन घट्दै गएको थियो । तर, गतवर्षदेखि मकवानपुरका किसान पनि तोरीखेतीतर्फ आकर्षित भएका छन् । हेटौंडा–१२ आल्दमारमा सिंचाई कम हुने हुँदा धान रोपिदैन भने कहिकतै मात्रै विद्युतीय मोटरको भरमा सिंचाई हुने गरेको छ । त्यस ठाउँमा प्रख्यात रहेको कोदो, मकै र तोरी जस्ता बाली १२ महिना नै त्यहाँका किसानले लगाउने गर्दछन् ।

हालै धान नरोपेता पनि मकै थन्काईसकेपछि तोरी छरिएको आल्दमारका किसान खड्गबहादुर चापागाईंले बताए । तोरीखेतीबाट तेल आयात न्यूनीकरणमा मद्दत पुग्ने हुनाले पनि यसको महत्व छ । तोरी छरिसकेपछि साग, सागबाट बनेको गुन्द्रुक खान मिल्छ भने यसको फलबाट तेल निकाल्न सकिन्छ । तोरीको तेल खानको लागि प्रयोग गरिन्छ त्यसबाट निस्किएको पिना मलको रुपमा अन्नबालीमा छरिने गरेको चापागाईंले बताए ।

नेपालमा तोरीको तेलको बढ्दो माग र स्वास्थ्यलाभको बारेमा बढ्दो जनचेतनाले तोरीखेतीको पुनःउत्थानको सम्भावना उत्पन्न गरेको छ । बजारमा पाइने गरेको तेलभन्दा बारीमा उत्पादन गरिएको तोरीको तेलको प्रयोगले स्वास्थ्यको लागि फलदायी हुने तल्लोतालका किसान शेरबहादुर वाइबाले बताए । तोरीखेतीले तेलको मागको पुर्ति गर्ने र बाहिरी मुलुकबाट तेलको आयात गर्न नपर्ने उनले बताए । उनले भाडाको जग्गामा पनि तोरीखेती गरिरहेका छन् । एक बाली तोरीले वर्षभरि तेल किन्ने झन्झटबाट मुक्त हुने उनले बताए । एक बालीमा तोरी ३ देखि ४ कुन्टलसम्म आउने वाइबाले बताए ।

नेपालको तोरी उत्पादकत्व हाल प्रतिहेक्टर औसत १ हजार १ सय किलोग्राम रहेको छ, जुन विश्वव्यापी औषत २ हजार किलोग्राम भन्दा कम छ । कृषिविज्ञको अनुसार उन्नतखेती प्रोटोकल र कृषकलाई प्रोत्साहन गर्ने उपाय लागू गरेमा नेपालमा तोरी उत्पादनमा वृद्धि गर्न सकिन्छ । यसका लागिकृषि अनुसन्धान र नयाँ प्रविधिको प्रयोग अत्यन्त आवश्यक रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*