मकवानपुरका ४५ हजार जना स्वास्थ्यबीमामा आबद्ध

साझाकुरा
२०८१ मंसिर २, आईतवार ११:४२

हेटौंडा-सरकारले सञ्चालन गरेको स्वास्थ्यबीमा कार्यक्रममा मकवानपुरका ४४ हजार नौ सय ६१ जना आबद्ध भएका छन् । गत २०७४ भदौ १ गतेदेखि स्वास्थ्यबीमा कार्यक्रम लागू भएयता हालसम्म मकवानपुरको ८६ हजार दुई सय ७९ घरमध्ये ४४ हजार नौ सय ६१ बीमामा आबद्ध भएको स्वास्थ्यबीमा बोर्ड हेटौँडा मकवानपुरका प्रमुख नरबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी मकवानपुरको मनहरी गाउँपालिकामा ८० प्रतिशतले स्वास्थ्यबीमा गराएका छन् भने सबैभन्दा कम बागमती गाउँपालिकामा १२ प्रतिशत घरले मात्र स्वास्थ्यबीमा गराएका छन् । मनहरी गाउँपालिकामा सात हजार एक सय ३१, हेटौंडा उपमहानगरपालिकामा २४ हजार आठ सय ३४, मकवानपुरगढी गाउँपालिकामा दुई हजार तीन सय ६६, थाहा नगरपालिकामा तीन हजार एक सय २५, भीमफेदी गाउँपालिकामा एक हजार छ सय ४२, कैलाश गाउँपालिकामा एक हजार चार सय ४९, बकैया गाउँपालिकामा दुई हजार ५६, इन्द्रसरोवर गाउँपालिकामा सात सय १५, राक्सिराङ गाउँपालिकामा नौ सय ५३ र बागमती गाउँपालिकामा छ सय ८३ को स्वास्थ्यबीमा भएको प्रमुख खड्काले बताए ।

कार्यालयमा बीमादर्ताका लागि थप आवेदनहरु आइसकेको र ती सबै आवेदन दर्ताको तयारी भइरहेको प्रमुख खड्काले बताए । मकवानपुरमा स्वास्थ्यबीमा कार्यक्रम लागू भएपछि स्वास्थ्यबीमा बोर्डले जिल्लाको सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत् प्रचारप्रसारसँगै बीमितहरुको नाम दर्ताको कार्य गर्दै आएको छ ।स्वास्थ्यबीमा कार्यक्रममा आबद्ध भएकाहरुले जिल्लाको आठवटा स्वास्थ्यसंस्थाबाट स्वास्थ्यसेवा लिने गरेका छन् ।

प्रमुख खड्काका अनुसार स्वास्थ्यबीमामा जोडिएकाहरुलाई मकवानपुरको हेटौंडा अस्पताल, मनहरी आधारभूत अस्पताल, हेटौंडा सामुदायिक आँखा अस्पताल, पालुङ प्राथमिक स्वास्थ्यकेन्द्र, भीमफेदी प्राथमिक स्वास्थ्यकेन्द्र, बकैया आधारभूत अस्पताल, राक्सिराङ आधारभूत र सिएमसी चुरेहिल अस्पताल प्रालि हेटौंडाले स्वास्थ्यसेवा प्रदान गर्दै आएका छन् ।

प्रत्येक वडामा एक÷एक जना सहजकर्ता परिचालन गरी बीमाको महत्व, यसको प्रक्रिया र बीमा कार्यक्रमबाट प्राप्त हुने सुविधाका बारेमा प्रचारप्रसार गर्नुका साथै बीमा गराउनेहरुको नाम दर्ताको कार्य भइरहेको प्रमुख खड्काले बताए । सहजकर्तामार्फत दर्ता भएको बीमितहरुको नामलाई प्रत्येक तीन÷तीन महिनामा कम्प्युटरमा दर्ता गर्ने गरिएको र अहिले नाम दर्ता हुने बीमितहरुले बीमा सेवा पाउने गरेको उनको भनाइ छ ।

पाँच जनाको परिवारले वार्षिकरुपमा प्रतिपरिवारले तीन हजार पाँच सय रुपैयाँको प्रिमियम तिरे स्वास्थ्य उपचारबापत वार्षिक एक लाख रुपैयाँसम्मको स्वास्थ्यबीमा पाइने व्यवस्था छ । पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति थप सदस्यले वार्षिक सात सय रुपैयाँका दरले थप प्रमियम तिर्नुपर्ने र सुविधा थैलीमा २० हजार थपिने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*