ग्रामीण बहुउद्देश्यीयको साधारणसभा
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–२ बुद्धचोकमारहेको ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा शनिबार भएको छ । जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष राजु अधिकारीको सभाध्यक्षतामा सभा भएको थियो । सभाको अवसरमा सहकारीले विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । संस्थाले सञ्चारमाध्यमबाट सहकारी क्षेत्रको विषयवस्तुमा कलम चलाइएको भनी खबर सहकारी डटकमका प्रधानसम्पादक श्रीराम अर्जुनलाई सम्मान गरेको थियो । त्यस्तै, संस्थापक शेयरसदस्य खेमनाथ घिमिरे, रामप्रसाद अर्याल, हरिप्रसाद पुडासैनी र नेत्रप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो ।
सभामा जेष्ठ शेयरसदस्यतर्फ खड्क अर्याल, सञ्चालक समितितर्फ कृष्णप्रसाद घिमिरे र कर्मचारीतर्फ बजार प्रतिनिधि सुरज श्रेष्ठलाई सम्मान गरिएको थियो । बचततर्फ राजेन्द्र अर्याल र बोजप्रसाद भट्टराई, कारोबारतर्फ कुमार लामा र जीवन सिलवाल व्यवसायतर्फ सन्तोष घिमिरे र उषा गोले र बालबचततर्फ धैर्यता सुनारलाई सम्मान गरिएको थियो । सहकारीले एसईइमा उत्कृष्ट जिपिए ल्याउने रक्षक नेवार, आयुष दुलाल, सुमीन मानन्धर, अनुभव अर्याल, शरद न्यौपाने, सदी पाख्रिन लामा र पवन अर्याललाई पुरस्कृत गरेको थियो ।
सभामा बागमती प्रदेश सहकारी संघका सञ्चालक रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, संस्थापक अध्यक्ष कृष्णप्रसाद पुडासैनी, पूर्वअध्यक्ष पूर्णप्रसाद पुडासैनी, निवर्तमान अध्यक्ष प्रतिमा श्रेष्ठ, कुखुरा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मैनाली, सञ्चारकर्मी श्रीराम अर्जुनलगायतको आतिथ्यता रहेको थियो।सहकारीले आव २०८०÷८१ मा ११ करोड ६ लाख ७ हजार ६३७ रुपैयाँ बराबरको विवरणपत्र प्रस्तुत गरेको छ ।
२ करोड ६ लाख ५२ हजार एकसय शेयरपुँजी रहेको सहकारीले सदस्यलाई ९ करोड २८ लाख ७६ हजार ७३१ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक पुष्पा क्षेत्रीले बताइन् । संस्थामा बचतनिक्षेप ४ करोड १४ लाख ३७ हजार ८२० रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५८ लाख ४८ हजार ६ सय रुपैयाँ रहेको व्यवस्थापक क्षेत्रीले बताइन् । सभामै संस्थाका अध्यक्ष राजु अधिकारीले बैठकभत्ताको रकममा थप गरी नगद १० हजार रुपैयाँ हेटौंडा–१२ सिग्रेनीको प्रतिभा आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत राज मोक्तानलाई छात्रवृत्तिस्वरुप हस्तान्तरण गरेका थिए ।







