हेटौंडामा यातायात कम्पनीद्वारा पहिलो चार्जिङ स्टेशन

साझाकुरा
२०८१ मंसिर ३, सोमबार १२:१४

हेटौंडा- हेटौंडामा पहिलोपटक निजी यातायात कम्पनीद्वारा विद्युतीय सवारी (ईभी) चार्ज गर्नको लागि चार्जिङ स्टेशन खोलिएको छ ।हेटौंडामा १२ वर्ष अगाडि स्थापना भएर सञ्चालनमा रहेको हाम्रो सुमो सेवा प्रालिले हालै ईभी सवारी सञ्चालनसंगै चार्जिङ स्टेशन आज सोमबारदेखि सञ्चालन गर्न लागेको हो । हेटौंडा–४ स्थित भुवनेश्वर महादेव मन्दिरअगाडि पशुपतिनाथ ई.भी. चार्जिङ सेन्टर प्रालि सञ्चालनमा आउन लागेको हो ।

विद्युतीय सवारी साधन भित्रने संख्या बढ्दै गएपनि चार्ज गर्ने स्थानको अभावमा सहजै सञ्चालनमा आउन नसकेकोले चार्जिङ स्टेशनसहित ईभी सञ्चालन गरिएको कम्पनीका सञ्चालक भेष खड्गीले बताए । ‘ईभीको भित्रने संख्या बढ्यो तर, चार्ज गर्न घण्टौंसम्म कुर्नुपर्ने अवस्था छ’, सञ्चालक खड्गीले सोही समस्या समाधान गर्न हाल ६ वटा प्वाइन्टसहित चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको बताए । उनले राजमार्गबाट केहीभित्र सहजै चार्ज गर्न सकिने गरी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको बताए ।

नेपाल विद्युत् प्राधिकरणले डेढ वर्षअघि हेटौंडा–१५ रातोमाटेमा चार्जिङ स्टेशन सञ्चालन गर्दै आएपनि निजी क्षेत्रको यातायात व्यवसायी आफैंले हेटौंडामा पहिलोपटक चार्जिङ स्टेशन सञ्चालन भएको हो । यसअघि प्राधिकरणको अनुदान सहयोगमा हेटौंडा–९ कर्रा र हेटौंडा–११ थानाभ¥याङमा निजी ईभी कम्पनीद्वारा चार्जिङ स्टेशन सञ्चालनमा छ ।

चार्जिङ स्टेशन पर्याप्त नहुँदा करिब दुईसय ५० वटा सवारी भित्रिसकेको हेटौंडाका व्यवसायीहरु मारमा पर्दै आएका छन् । हेटौंडामा चार्जिङ स्टेशन पर्याप्त नहुँदा समयमा सवारी गन्तव्यमा पुग्न नसक्ने, घण्टौंसम्म कुरेर चार्ज गर्नुपर्ने जस्ता समस्या पर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*