प्रदेश लोकसेवा आयोगलाई व्यवस्थित र विश्वासिलो बनाउन सुझाव

साझाकुरा
२०८१ मंसिर ३, सोमबार १२:१८

हेटौंडा-बागमती प्रदेशका प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले लोकसेवा आयोगलाई व्यवस्थित र विश्वासिलो बनाउनुपर्ने सुझाव दिएक छन् ।आइतबार हेटौंडामा आयोजित प्रदेश लोकसेवा आयोगको पाँचौं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले नागरिकको भरोसालाई ध्यानमा राखेर परीक्षा सञ्चालन, विज्ञापन प्रकाशन, सरुवा÷बढुवाको विषयमा संवेदनशील भएर कार्य गर्नुपर्ने बताए । स्वच्छता, निष्पक्षता, वस्तुगतगुणलाई शिरोधार्य गरेर जनताको भरोसालाई कायम राख्दै छिटोछरितो र विश्वासनीय रुपमा कार्यसम्पादन गर्न उनले आग्रह गरे ।

‘प्रदेश लोकसेवा आयोगमा विभिन्न जटिलताले समस्या उत्पन्न भएका छन्, त्यसलाई व्यवस्थित गर्न सबैपक्षलाई आग्रह छ’, उनले भने । आफू प्रदेशप्रमुख भएको सयदिन पुरा भएकोमा खुशी व्यक्त गर्दै लोकसेवा आयोगलाई स्थापना दिवसको शुभकामना व्यक्त गरे । हरेक समस्याको समाधान हुन्छ, प्रदेशप्रमुखले समस्याको समाधानमा सधैं तत्पर रहने समेत प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै, समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बहादुरसिंह लामाले आयोगलाई विश्वासिलो बनाउन सरकार कटिबद्ध रहेको बताए । आयोगलाई छिट्टै सरकारी भवनमा सार्ने व्यवस्था गरिनुका साथै आयोगलाई प्रभावकारी बनाउन सकियो भने सरुवा र बढुवामा सहजता पुग्ने मुख्यमन्त्री लामाले बताए । सिस्टम बिकास गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री लामाले आयोगमा भएका चुनौतीलाई समाधान गर्न सबैक्षेत्रको साथ सहयोग रहनुपर्ने बताए ।

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सरुवा÷बढुवामा पावर र भनसुन नलाग्ने बताए । परीक्षालाई विश्वासिलो बनाई ऐनमा सरुवा र बढुवालाई उल्लेख गर्न धेरै राम्रो हुने बताए । आयोगले गर्ने कार्यको मोडालिटी परिवर्तन गरी पुरानै पद्दतिलाई विस्तारै प्रयोग कम गर्दै लैजानुपर्नेमा उनले जोड दिए । आयोगका अध्यक्ष महेश्वर श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश सरकारका मन्त्रीहरु, उपसभामुख अप्सरा चापागाई, प्रदेश मुख्यसचिव डा. हरिप्रसाद लम्साल, कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीको उपस्थिति थियो । कार्यक्रममा आयोगका सदस्य शर्मिला न्यौपानेले आव २०८०÷८१ को वार्षिक प्रतिवेदनका प्रमुख विषयवस्तुबारे जानकारी दिएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*