सिस्नेरी पहिरो घटनाः पीडित परिवारको आक्रोष, आँसु र अनुनय
हेटौंडा- २०८१ असोज ११ गतेदेखि देशभर अविरल वर्षा भयो । पूरा देश बाढीपहिरोको प्रकोपबाट आक्रान्त भयो । यसैबीच असोज १२ गते शनिबारको दिन एकाबिहानै मकवानपुरको सिस्नेरीबाट एउटा मनै चुँड्ने खालको समाचार आयो, ‘अखिल नेपाल फुटबल संघले चलाएको सिस्नेरी एन्फा एकेडेमीका ६ बालकको पहिरोमा पुरिएर
ज्यान गयो ।’प्राकृतिक प्रकोपले देशभरै बितण्डा मच्चाइरहेको थियो ।
हृ्रदयविदारक खबर आइ नै रहे । तर, सिस्नेरीको घटना फगत प्राकृतिक प्रकोपमात्र थिएन । त्यहाँ एकेडेमीमा लापरवाही भएको र त्यही लापरवाहीका कारण ६ अबोध बालकले ज्यान गुमाउनुपरेको विश्लेषणहरु पनि आइरहेका थिए । राष्ट्रिय खेलाडी बन्ने सपना पूरा गर्नका लागि एन्फाको एकेडेमीमा पठाइएका सन्तानको दूर्भाग्यजनक अवसानले परिवारमा ठूलै बज्रपात भयो । मनमा कहिल्यै नभरिने गहिरो घाउ लाग्यो ।
संघीय संसद चलेको थिएन । तथापि समितिमार्फत् यो घटनामाथिको छलफल संसदसम्म पुग्यो । आफ्ना अबोध सन्तानले अनाहकमा ज्यान गुमाउनुपरेको विषयले संसदीय छलफलमै प्रवेश पाएपछि अभिभावकलाई सन्तान गुमाए पनि कम्तिमा न्याय पाउने आशा थियो । यही आशा बोकेर प्रहरी, एन्फा, राष्ट्रिय खेलकुदपरिषद, युवा तथा खेलकुद मन्त्री हुँदै प्रधानमन्त्रीसम्म न्यायको भिख माग्दै धाउनमै अभिभावकहरुले झण्डै दुई महिनाको समय खर्चिए ।
तर, सरकारको शीर्ष नेतृत्वदेखि तलैसम्म ६ अबोध बालकले ज्यान गुमाउनुपरेको विषय कसैको पनि प्राथमिकतामा परेन । राष्ट्रिय खेलाडी बनेर नेपाली फुटबलमा सेवा गर्ने लक्ष्य बोकेका आफ्ना सन्तानको जीवन चुँडिएको घटना अभिभावकले विर्सन सक्ने खालको थिएन । यसबीचमा योबाहेक उनीहरुको मन मश्तिष्कमा अरु कुनै विषय पनि आउनै सकिरहेको थिएन । सन्तानसँग बिछोडिनुपर्दाको पीडा दबाएर ५३ दिनसम्म शान्त बसेका अभिभावकले अब नबोली न्याय नपाउने ठहर गर्दै मंगलबार पत्रकार सम्मेलन गरे । जहाँ सिस्नेरी घटनामा ज्यान गुमाएका सबै ६ खेलाडीका अभिभावक थिए । अनि उनीहरुसँग थियो, प्रशासनप्रतिको चर्को आक्रोष, सन्तान गुमाएको पीडा, असह्य
रोदन, कहिल्यै नरोकिने आँसु । कार्यक्रममा एन्फाका केही पदाधिकारी थिए ।
फुटबलका केही पूर्वखेलाडी थिए, अनि ठूलो संख्यामा पत्रकार उपस्थित थिए । घटनामा परि प्रियान्स आचार्य, अनुपम घलान, विकल रेग्मी, साइमन योन्जन, आदित्य बलम्पाकी र विवश वानियाँको मृत्यु भएको थियो ।‘हामी यहाँ आफ्ना सन्तानमाथि भएको अन्यायको कुरा राख्न आएका हौं । उनीहरुलाई न्याय मिलोस भनेर भिख माग्न आएका हौं । सरकारले हाम्रो आँसु देखेन । प्रधानमन्त्रीले हाम्रो पीडा बुझेनन् । खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले पनि यति ठूलो लापरवाही देखेन । पुलिस त पहिलो दिनदेखि नै हाम्रा सन्तानमाथि भएको अन्याय लुकाउन लागिपरेको छ,’ सुजन (बलम्पाकी) का अभिभावक भरतबहादुर थापा पत्रकार सम्मेलनमा भक्कानिए, ‘त्यही भएर हामी पत्रकारको शरणमा आएका छौं ।’
एन्फाले घटनाको छानवीन गर्न समिति गठन गरेको थियो । तर, आफ्नै चरम लापरवाहीका कारण घटेको यो घटनाका लागि गठन गरिएको कमिटी अर्थहीन रहेको पीडित परिवारको गुनासो छ । ‘जसले आफ्नो गल्ती स्वीकार्न सक्दैन, उसैले गठन गरेको छानवीन समितिको विश्वास कसरी गर्ने ? एन्फा आफैं दोषी हो । समिति गठन गरे पनि अहिलेसम्म हामीले के पायौं ? अहिलेसम्म न त विद्यालयले नै घटनाको यथार्थ भन्न खोजेको छ, न त एन्फाले नै,’ विकल (रेग्मी)का आमा कमला रेग्मी भन्छिन्, ‘उहाँहरुले त घटनालाई प्राकृतिक प्रकोपसँग जोड्नुभएको छ । तर, तीन दिन अघिदेखि बाढीपहिरोको सूचना जारी भएको थियो ।
सिस्नेरीगाउँको उद्दार हुन सक्ने, हाम्रा छोराहरुको चाहिँ हुन नसक्ने ?’रेग्मीले एन्फामाथि आठ लाख रुपैंयामा आफूहरुलाई किन्न खोजिएको आरोप समेत लगाए । ‘हामीलाई एन्फाले आठ लाख रुपैंयाको चेक प्रदान गरेको थियो । जुन कुरा एकदमै निन्दनीय छ । के हाम्रो सन्तानको मूल्य आठ लाख हो ? एन्फाले हामीलाई चोटमाथि चोट दिएको छ,’ रेग्मीको गुनासो छ । सिस्नेरी एन्फा एकेडेमीमा ४० खेलाडी आबद्ध थिए । घटनाको दिन वार्डेनले खेलाडीलाई आउन सक्ने खतरालाई बेवास्ता गर्दै होस्टलबाट बाहिर जान आदेश दिएको पीडित परिवारले बताएको छ ।
‘आमा, पानी आयो, मलाई बचाउनुहोस् भन्दै छोराले फोन गरेको थियो । सुरक्षित ठाउँमा सार्नुहोस् भनेर भन्दा त्यहाँको होस्टल वार्डेनले केही हुँदैन भनेर नसारेको गुनासो गरिरहेको थियो,’ अनुपम (घलान)का आमा ललिता घलान रुँदै बोल्छिन्, ‘बिहान साढे पाँचबजे वार्डेनले भाग भनेर भनेपछि बच्चा भागेका रहेछन् । कताबाट जाने ? के गर्दा सजिलो हुन्छ ? बच्चाहरुलाई त्यो केही पनि बुझाइएन ।
त्यस्तो विपत्तिको बेला जतिसक्दो हल्का बनाएर पठाउनुपर्नेमा भारी झोला बोकाएर पठाए । ससाना बालकले स्थितिको मूल्यांकन गर्न सक्ने कुरै भएन । कसैले उनीहरुलाई नडोहो¥याएपछि स्थिति नबुुझिकन सबैजाना गह्रों झोला बोकेर दौडिए ।’पीडित परिवारले न्यायवाहेक आफूहरुलाई केही नचाहिने प्रष्ट पारेका छन् । ‘हामीलाई न्याय मात्र चाहिएको हो । सरकारी तहबाटै उच्चस्तरीय निश्पक्ष छानवीन समिति बनाएर प्रतिवेदन सार्वजनिक गरियोस् । दोषिमाथि कार्वाही होस् । ताकी भविश्यमा अरु थुप्रै छोराछोरीले अनाहकमा ज्यान गुमाउनु नपरोस् । फुटबल खेलाडी बनेर देशको सेवा गर्ने लक्ष्य लिएका हाम्रा सन्तानले अकालमा ज्यान गुमाउनुपर्यो । अब उनीहरुलाई अमर बनाउने केही काम गरियोस्,’ पीडितहरु एक स्वरमा भन्छन् ।
सरकारबाट न्याय नपाए नेपाली फुटबल क्षेत्रमा कडा आन्दोलन गर्ने र अदालतको ढोका ढक्ढक्याउनेसम्मको योजनामा आफूहरु रहेको पीडित परिवारले बताए । ‘आवश्यक प्रमाण लिएर जाहेरीमा पनि जान्छौं,’ उनीहरु भन्छन् । (स्रोतः खेलाडी डटकम)







