पालुङ सहकारीदेखि ‘एचएसएम’सम्मलाई उत्कृष्ट करदाता सम्मान

साझाकुरा
२०८१ मंसिर ९, आईतवार १२:५४

हेटौंडा-सरकारलाई सबैभन्दा बढी आयकर दाखिला गर्ने मकवानपुरमा रहेर व्यापार व्यवसाय गर्दै आएका विभिन्न क्षेत्रका करदातालाई सम्मान गरिएको छ ।आन्तरिक राजस्व कार्यालय हेटौंडाले १३ औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रमको समापनका अवसरमा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा समग्र क्षेत्रतर्फ निक–लुम्बिनी विद्युत् जेभी, उद्योग क्षेत्रतर्फ यती पेन्ट्स नेपाल प्रालि, व्यापार क्षेत्रतर्फ न्यु ब्रदर हार्डवेयर, शैक्षिक क्षेत्रतर्फ हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस एजुकेसन प्रालि (एचएसएम)लाई सम्मान गरेको हो ।

सरकारले यसवर्ष ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूलनारासहित मनाइरहेको कर दिवसका अबसरमा सम्मान प्रदान गरेको छ । कार्यालयले बैंक तथा वित्तीय संस्थातर्फ पालुङ बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, अन्तःशुल्कतर्फ गोरखा लाहारी प्रालिका संचालक÷प्रतिनिधिलाई सम्मान प्रदान गरेको हो । मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ मकवानपुर र चेम्बर अफ कमर्श मकवानपुरलाई कर सहभागितामा पु¥याएको योगदानका लागि सम्मान गरिएको थियो ।

कर सप्ताहको समापन तथा सम्मान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरलाई समेत सम्मान गरिएको छ । यसैगरी, कर सप्ताहको तेस्रो दिन आयोजना गरिएको खुला निबन्ध प्रतियोगिताका विजेता हेटौंडा स्कुल अफ म्यानेजमेन्टकी छात्रा प्रतिभा भट्टराई (प्रथम), सलिना धिताल (द्वितीय) र स्नेहा उप्रेती (तृतीय) लाई नगदसहित पुरस्कृत गरिएको हो । कार्यक्रमका प्रमुखअतिथि एवम् प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल र कर कार्यालयका प्रमुख युक्त सुवेदीले सम्मानपत्र प्रदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*