बालमैत्री घोषणाको तयारीमा हेटौंडा–१९ नम्बर वडा
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१९ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । वडा कार्यालयले मंगलबार पत्रकार सम्मेलनमार्फत् विभिन्न सूचक पूरा गरेसँगै यही मंसिर १९ गते शुक्रबार वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो ।‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूलनाराकासाथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–१९ का अध्यक्ष नरनाथ सुबेदीले जानकारी दिए ।
उनले पूर्णखोपयुक्त, पूर्णसाक्षर, खुल्लादिसामुक्त वडा घोषणा भईसकेको १९ नम्बर वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचक पूरा भएको बताए । ४४ वटा सूचक १०० प्रतिशत, एउटा सूचक ९८ प्रतिशत, ३ वटा सूचक ९५ प्रतिशत र एउटा सूचक ९० प्रतिशत, एउटा सूचक ८५ प्रतिशत, एउटा सूचक ८० प्रतिशतसम्म नतिजा हासिल भएको जनाइएको छ ।
अधिकांश भागहरु ग्रामीणस्तरका रहेको वडामा घरधुरी तथ्यांक संकलन सर्वेक्षण, २०७९ अनुसार १८ वर्ष मुनिका बालबालिकाको संख्या ३,३५० रहेको बताइएको छ । बालबालिकाको संख्यामध्ये १ हजार ७२७ बालक र १ हजार ६२३ बालिका रहेका छन् । बालबालिकाको संख्यालाई आधार मान्दा ४८.४४ प्रतिशत बालिका र ५१.५५ प्रतिशत बालक रहेका अध्यक्ष सुवेदीले जानकारी दिए । वडामा सामुदायिक र संस्थागत गरी बालविकास केन्द्र सहितका १० वटा विद्यालय संचालनमा रहेको बताइएको छ ।
१८ वटा बालसमूह र एक वडा बालसञ्जालमा ४५० जना बालबालिका आवद्ध छन् भने विभिन्न संरचनागत समितिमा समेत जम्मा ४९१ जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको उनले बताए । आजका बालबालिका भोलिका कर्णधार हुन् भन्ने भनाईलाई मनन् गर्दै २१ औं शताब्दीका बालबालिकालाई यो भनाईमाथि नै परिमार्जित गर्दै बालबालिकालाई आजैका साझेदार बनाउन सोही अनुसारका काममा सक्रिय बनाउने प्रयास रहने उनले बताए ।
स्थानीय सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थी, विभिन्न टोलविकास संस्थाका सदस्य, विभिन्न संघ–संस्थाको प्रतिनिधिको सहभागितामा प्रभातफेरीसहित औपचारिक घोषणा हुने वडाध्यक्ष सुबेदीले बताए । पछिल्लो समय हेटौंडा उपमहानगरपालिकामा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाक्रम बढ्दो छ । यसअघि हेटौंडा–२, ४, ७, ८, ९, १०, ११, १५ र १७ गरी ९ वटा वडालाई बालमैत्री वडा घोषणा गरिसकिएको छ ।







