मुख्यमन्त्रीले भने–थाहाको पर्यटन विकास सघाउन प्रदेश सरकार तयार
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले थाहा नगरपालिकाको समृद्धिको लागि कृषि र पर्यटन क्षेत्रमा जोड दिनुपर्ने बताएका छन् ।गोरखनाथ संवत् २८१८ को अवसरमा थाहा नगरपालिका–३ डाँडागाउँमा गोरखनाथ कल्याण केन्द्रले आयोजना गरेको गोरखसंवत्को उपलक्ष्यमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले थाहानगर प्रदेश सरकारको विशेष प्राथमिकतामा रहेको बताए ।
नगरपालिकालाई धार्मिक तथा कृषि पर्यटनको रुपमा लैजान प्रदेश सरकार तयार रहेको उनले उल्लेख गरे । मुख्यमन्त्री लामाले गोरखनाथ मन्दिर आउने सडकको स्तरोन्नतिको लागि स्थानीय सरकारलाई डिपिआर सहित प्रदेश सरकार समक्ष आउन आग्रह गरे ।
कार्यक्रममा थाहा नगरउपप्रमुख भरत गोपालीले गोरखनाथ मन्दिरसम्म आउने सडक र पूर्वाधारको लागि बजेट बिनियोजन गरिदिन मुख्यमन्त्री लामासँग अनुरोध गरेका थिए । कार्यक्रमको अवसरमा पालुङमा निर्मित वायुमण्डलीय शक्तिपीठको निर्माणमा अतुलनीय योगदान दिएको भन्दै गोरखनाथ कल्याण केन्द्रले थाहानगरका युवा समाजसेवी तथा निर्माण व्यवसायी राजनप्रसाद ढकाल र शम्भुसिं कार्कीलाई सम्मान गरेको थियो ।
केन्द्रका अध्यक्ष फणिप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोरखनाथ कल्याण केन्द्रका संरक्षक अनन्तप्रसाद खनाल, नेपाली कांग्रेसका नगरसभापति प्रमोदकृष्ण जोशी, वडा न ११ का वडाअध्यक्ष दिनेश बललगायत अतिथिको उपस्थिति रहेको थियो ।