निर्वाचन आचारसंहिताबारे पत्रकारलाई अभिमुखीकरण

साझाकुरा
२०८२ माघ १६, बिहीबार ११:३९

हेटौंडा- फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मकवानपुरका सञ्चारकर्मीलाई निर्वाचन आचारसंहिता २०८२ सम्बन्धी अभिमुखीकरण गरिएको छ । बागमती प्रदेश निर्वाचन कार्यालयको आयोजनामा तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको समन्वयमा जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले निर्वाचन आचारसंहिता २०८२ मा उल्लेख भएका विषयबारे जानकारी दिएका थिए । उनले आचारसंहिता अनुसार कसैको पक्ष वा विपक्षमा सञ्चारमाध्यममा मात्रै नभई सामाजिक सञ्जालमा पनि पोस्ट वा शेयर गर्न नहुने स्पष्ट पारे ।

निर्वाचनअधिकृत देवेन्द्र आचार्यले आचारसंहिता दण्डात्मकभन्दा सुधारात्मक प्रकृतिको भएको बताउँदै यसको उल्लंघनबारे सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दा प्रभावकारी हुने बताए । उनले आचारसंहिताको उद्देश्य डर सिर्जना गर्नु नभई स्वच्छ र मर्यादित निर्वाचन सुनिश्चित गर्नु रहेको र यसको पालन गर्नु सबै दल, उम्मेदवार, कर्मचारी तथा सञ्चारकर्मीको दायित्व भएको स्पष्ट पारे । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले आचारसंहिता नैतिक विषयसँग पनि जोडिएको विषय भएको उल्लेख गर्दै, कानुनले नगर्नु भनेको काम नगर्नु नै आचारसंहिताको मूल उद्देश्य भएको बताएका छन् ।

उनले व्यक्तिको संस्कार र नैतिकता आचारसंहिताको पालनाले झल्किने र सबै नागरिकले यसलाई पालना गर्नुपर्ने बताए । सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत आचारसंहिता लाग्ने उनले बताए । पत्रकारलाई निर्वाचनको समयमा स्वतन्त्ररुपमा कार्य गर्न जिल्ला प्रशासनले सुरक्षा व्यवस्था मिलाएको जानकारी उनले दिएका छन् । हालसम्म करिब १० वटा उजुरी प्रशासनमा दर्ता भएको उनले बताए । निर्वाचनको समयमा स्वतन्त्र र निष्पक्ष ढंगले समाचार संकलन गर्न सञ्चारकर्मीलाई प्रशासनले सुरक्षाको पूर्णरुपमा प्रत्याभूति दिलाउने समेत उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रजिअ अधिकारीले भयरहित वातावरण निर्वाचन गराउन सञ्चारकर्मीसँग दोहोरो संवादको लागि आपूmहरु तयार रहेको उल्लेख गरे । उनले सञ्चारकर्मीमाथि मतदान अधिकृतबाट गलत व्यवहार नहोस् भन्नेतर्फ प्रशासन र सुरक्षा निकाय सचेत रहेको बताए । केही विद्यालयमा चुनावी प्रचारप्रसार भएको उजुरीसमेत आएको उनले उल्लेख गरे । प्रशासनबाट सूक्ष्म मूल्यांकनकर्ता खटाइनुका साथै कानुनीरुपमा गठित समितिमार्फत् अनुगमन भइरहेको उनले बताए । आचारसंहिता कार्यान्वयनका लागि प्रमुख कोष नियन्त्रक र सहायक प्रजिअलाई आचारसंहिता पालना अधिकृत तोकिएको उनले बताए ।

प्रजिअ अधिकारीले मतदातालाई उत्साहित बनाउने, राष्ट्रसेवक कर्मचारीलाई खबरदारी गर्ने र उम्मेदवारलाई सचेत गराउने जिम्मेवारी सञ्चारकर्मीको हुने उल्लेख गरे । जिल्ला प्रशासन कार्यालयमा निर्वाचन सेलको सचिवालय स्थापना गरिएको उनले जानकारी दिएका छन् । अभिमुखीकरणमा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टलगायत जिल्लाका विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारको सहभागिता ,रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*