प्रधानमन्त्रीद्वारा द्रुतमार्गको निरीक्षण: धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

साझाकुरा
२०८२ माघ १५, बुधबार ११:४९

हेटौंडा- प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण गरेकी छन् । उनले मंगलबार बिहान नेपाली सेनाका अधिकारी र उच्चपदस्थ कर्मचारीको टोलीसहित द्रुतमार्ग निरीक्षण गरेकी हुन् ।निरीक्षणको क्रममा प्रधानमन्त्री कार्कीले सडक पूर्वाधार लगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पु¥याउन नहुनेमा जोड दिइन् । उनले स्थानीयका सरोकारलाई गम्भीररुपमा लिई समाधान खोज्न निर्देशन दिइन् । ‘स्थानीयका सरोकारलाई गम्भीरता पूर्वक ध्यान दिई समाधान खोज्नुपर्छ । आवश्यक परेको खण्डमा रेखांकन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्छ । उहाँहरुको विश्वासमा आधात नपुग्ने गरी हाम्रा विकास निर्माण अघि बढाउनुपर्छ’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले भौतिक संरचनालगायत निर्माण गरिँदा आवश्यक पर्याप्त खाली ठाउँको व्यवस्था मिलाउन सुझाव दिइन् । ‘प्राकृतिक विपद्को बेला खुला ठाउँको आवश्यक पर्छ, मानिसको ओहारदोहर, मेला, पर्व र भेला तथा जमघटका लागि पनि खुला ठाउँ आवश्यक पर्छ । त्यसकारण खाली ठाउँ देख्नेबित्तिकै संरचना बनाउनुपर्छ भन्ने धारणा त्याग्नुपर्छ । योजना बनाउँदा नै पर्याप्त खाली र खुला ठाउँ छाडेर योजना बनाउने र संरचना निर्माण गर्नुपर्छ’ उनले बताइन् ।

यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको कार्यप्रगति, चुनौतीलगायत विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका थिए । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन यस मार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) स्वीकृतमा समय लाग्दा आयोजनाको काम सुरुगर्न केही ढिलाइ भएको थियो । कुल ७० दशमलव ९७७ किमी लम्बाइको आयोजनाको भौतिक प्रगति हाल करिब ४५ प्रतिशतको हाराहारीमा पुगेको छ ।

द्रुतमार्गअन्तर्गत् ८७ वटाभन्दा बढी पुल निर्माण गर्नुपर्नेछ । तीमध्ये केही विशिष्ट प्रकृतिका ८२ मिटरसम्म अग्ला पुल छन् । त्यस्ता पुलसमेत निर्माणको अन्तिमचरणमा पुगिसकेकाले आयोजना निर्धारित मिति २०८३ चैत मसान्त र प्रारम्भिक अनुमानित लागत दुई खर्ब १३ अर्बभित्रै निर्माण सम्पन्न गर्ने सेनाले जनाएको छ । द्रुतमार्गअन्तर्गत अहिलेसम्म विशेष प्रकृतिका १३ वटा पुल निर्माण भइसकेका छन् । अहिलेसम्म ८२ मिटरसम्म उचाइका विशेष प्रकृतिका ती पुलको निर्माण सम्पन्न भएको हो । यो आयोजनाको मकवानपुरस्थित लेनडाँडा क्षेत्रमा ८२ मिटर अग्लो पुल निर्माण सम्पन्न भएको हो । आयोजनाका विभिन्न खण्डमा करिब १३ किलोमिटर लम्बाइका कुल ८९ वटा पुल निर्माण गर्ने गरी डिजाइन गरिएको छ ।

नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता राजाराम बस्नेतले यस आयोजनाअन्तर्गत कुल ८९ वटा पुल निर्माण गर्नुपर्ने भएपनि अहिलेसम्म ८५ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको बताए । सम्झौता भएकामध्ये १३ वटाको निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै बस्नेतले द्रुतमार्ग अन्तर्गत पुलको कुल लम्बाइ १२ दशमलब ८८५ किलोमिटर रहेको बताए । यस आयोजनाको काठमाडौँतर्फबाट प्रस्थानविन्दुका रुपमा रहेको खोकनामा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण त्यहाँ निर्माण गर्नुपर्ने चारवटा पुलको अहिलेसम्म ठेक्का प्रक्रिया अगाडि बढाउन सकिएको छैन । उनले भने, ‘निर्माणाधीन पुलमध्ये ५४ स्थानका पुलको जग हाल्ने (फाउन्डेसन) काम र ३४ स्थानका पुलको ‘सब स्ट्रक्चर’ सम्पन्न भइसकेको छ ।’

त्यसैगरी आयोजना अन्तर्गत सडक कालोपत्र गर्ने काम सुरु भइसकेको बताउँदै सैनिक प्रवक्ता बस्नेतले पाँच किलोमिटर ‘सर्भिस लेन’ को कालोपत्र सम्पन्न भइसकेको जानकारी दिए । उनकाअनुसार ११ किलोमिटर सडकको ‘सब बेस’ काम पूरा भइसकेको छ । दु्रतमार्गको निजगढक्षेत्रमा जनावर हिँड्ने बाटो (एनिमल अन्डरपास) को मुख्य संरचना निर्माणको काम सम्पन्न भइसकेको छ । यो क्षेत्रमा ‘टोल प्लाजा’ र ‘इन्टरचेन्ज’ निर्माण भइरहेको छ । यस आयोजनाको बुदुने भन्ने ठाउँमा दुईवटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक÷एक वटा इन्टरचेन्ज र टोल प्लाजा निर्माण गर्ने गरी डिजाइन गरिएको छ ।

यो काठमाडौँ उपत्यकासँग मध्यतराईको सीधा सम्पर्क जोड्ने छोटो दूरीको राजमार्ग हुनेछ । निर्माणपछि तराईबाट काठमाडौँमा ल्याइने सामान ढुवानीमा ठूलो मात्रामा लागत र समय घट्ने तथा मुलुकको आर्थिक विकासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ । आयोजनाअन्तर्गतका सातवटा सुरुङ छन् । आयोजनाको लक्ष्यअनुसार कार्यसम्पन्न गर्न
विशेष प्रयास गरिरहेको सेनाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*