नगरस्तरीय शैक्षिक समन्वय महिला भलिबल १६ र १७ गते

साझाकुरा
२०८२ माघ १६, बिहीबार ११:४४

हेटौंडा-नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाले नगरस्तरीय महिला शिक्षक तथा कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । गतवर्ष झै यसवर्ष पनि प्रतियोगितालाई निरन्तरता दिएको हो । फागुन १६ गते र १७ गते दुईदिन चल्ने प्रतियोगितामा हेटौंडा नगरका २० वटा विद्यालयको टिम सहभागी हुने प्रतियोगिता संयोजक बालकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

बुधबार समितिले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिता हेटौंडा–१८ स्थित ज्योति माविको खेलमैदानमा हुने र प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमले नगद क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ मेडल प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिएका छन् ।

हेटौंडा–१८ का वडाध्यक्ष अनिल बानियाँंले उद्घाटन गर्ने प्रतियोगिताको उद्घाटन् खेल सिद्धार्थ मावि र ज्योति माविबीच हुनेछ । शिक्षणका साथै अतिरिक्त क्रियाकलापमा महिला सहभागिता वृद्धि गरी सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न सहयोग पुगोस भन्ने हेतुले प्रतियोगिता आयोजना गरिएको नगरस्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुइँटेलले बताएका छन् । खेलको टाइसिट सार्वजनिक गरिएको छ ।

प्रतियोगितामा हेटौंडा नगरभित्रका सिद्धार्थ मावि, प्रगति मावि, भृकुटी मावि, आधुनिक राष्ट्रिय मावि, भुटनदेवी मावि, त्रिभुवन मावि, ज्योति मावि, अरनिको मावि, गोरखनाथ मावि, श्रमिक मावि, बालज्योति मावि, बालबोध मावि, चन्द्रोदय मावि, जनप्रिय मावि, राजदेवी मावि, दीपज्योति आवि, कृष्ण आवि, बुद्ध मावि, नवज्योति मावि र निर्मल माविको सहभागिता हुने जनाइएको छ । प्रतियोगिता हेटौंडा–१८ को वडा कार्यालयको समन्वय र लगानीमा हुने वडासचिव महेश पुडासैनीले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*