भैंसेबाट १६० केजी गाँजासहित युवक पक्राउ
हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैंसे चेकप्वाईन्टबाट १ सय ६० किलो लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोरखाका २८ वर्षीय अमिर मियालाई बुधबार बिहान प्रहरीले गाँजासहित पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीचौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ आउँदै गरेको प्र. ३–०१–०२३ च ८०४७ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाइछिपाइ ल्याएको यो परिमाणको गाँजा फेला पारी गाडी चालक अमिरलाई पक्राउ गरेको प्रहरी नायवउपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले बताए ।
गाडीमा खाली तरकारी बोक्ने क्रेटले छोपेर गाँजा राखेर ल्याइएको थियो । प्लास्टिकले प्याक गरेर ३० वटा पोका बनाएर गाँजा ल्याइएको प्रवक्ता अर्यालले जनाए । मकवानपुर प्रहरीका अनुसार चालु आवको साउनदेखि मंसिर ११ गतेसम्म २ हजार ५ सय ६० केजी गाँजा, ३० केजी चरेस र २ सय ३९ ग्राम खैरोहेरोइन बरामद गरेको छ ।लागूऔषध कारोबार गरेको आरोपमा मकवानपुर प्रहरीले नेपाली र भारतीय नागरिक ६२ जना पक्राउ गरेको प्रहरी नायवउपरीक्षक अर्यालले बताए ।
यस अवधिमा २ जना महिलासहित ५७ जना नेपाली र एक महिलासहित ५ जना भारतीय नागरिक लागूऔषध कारोबारको आरोप पक्राउ गरिएको उनले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार गत आवमा लागूऔषध ओसारपसार गरेको आरोपमा २१ महिलासहित २ सय ५० जनालाई फ्रहरीले पक्राउ गरेर मुद्दा दायर गरेको थियो । गतवर्ष मकवानपुर प्रहरीले ३ हजार ९ सय ६२ केजी गाँजा बरामद गरेको थियो । १३ केजी अफिम, ७८ ग्राम खैरोहेरोइन र १ सय ५ केजी चरेश बरामद गरेको डिएसपी अर्यालले बताए ।