हेटौंडा–१२ उपनिर्वाचन : शान्तिपूर्ण निर्वाचन गराउन अपिल, मदिराजन्य बिक्री र सेवनमा पूर्णबन्देज

साझाकुरा
२०८१ मंसिर १४, शुक्रबार १०:५६

हेटौंडा- हेटौंडा–१२ मा १६ मंसिरमा हुने उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा गराउन सबै पक्षको साथ, सहयोगका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले अपिल गरेको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा बिहीवार हेटौंडामा आयोजित सर्वदलीय÷सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै मकवानपुर जिल्ला अदालतको न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबै पक्षले सहयोग गर्न आग्रह गरिन् । उपनिर्वाचनका दिन आयोगले तोकेको निकाय वा अधिकारीले अनुमति दिएको सवारीसाधन मात्र प्रयोग गर्न आमनागरिक, उम्मेदवार तथा दलका नेतालाई उनले अनुरोध गरेकी छन् ।

निर्वाचनका दिन क्रियापुत्री, शारीरिकरुपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक जस्ता मतदाताको लागि आयोगले तोकेको निकाय वा अधिकारीले अनुमति दिएको सवारी साधन प्रयोग गर्न बाधा नपर्ने भट्टराईले बताइन् । मतदातालाई निर्वाचनका दिन निर्वाचन आचारसंहिता, २०७९ को परिच्छेद ५ दफा २१ बमोजिम आचरण पालना गराउने कार्यमा सबैले सहयोग गर्ने समेत उनको आग्रह थियो ।

मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्वलनशील ठोस वा तरलपदार्थ, मोवाइल, क्यामरा साथमा लिएर जान नहुने, कुनै नशालुपदार्थ वा मादकपदार्थ सेवन गर्न नहुने, मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झुटा अफवाह, भ्रामक समाचार फैलाउन वा कुनै अवरोध गर्ने काम गर्न वा गराउन नहुने, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झन्डा अंकित कपडा, टी–सर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेष्ट, लोगो, ब्याज, मास्क, स्टिकर लगाउन वा झोला बोकेर जान नहुने जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले निर्वाचन अधिकृतले अनुमति नदिएका सामग्री मतदानस्थल तथा मतगणनास्थल नलैजान, स्वच्छ, निष्पक्ष, स्वतन्त्र, मर्यादित, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैले आ–आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गरिदिन आग्रह गरे । बैठकमा दलका उम्मेदवार तथा प्रनिधिहरुले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, मर्यादित, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आफूहरुको तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

छलफलमा प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकाल, गोरखबहादुर गण सुपारेटार ब्यारेकका प्रमुखसेनानी निरञ्जन धामी, प्रहरी उपरीक्षक विश्वराज खड्का, सशस्त्र प्रहरीउपरीक्षक ज्ञानप्रसाद भुर्तेल, उपअनुसन्धान निर्देशक प्रज्वल खड्कालगायत सहभागिता रहेको थियो । बैठकमा उपनिर्वाचनको तयारी र निर्वाचनका दिन प्रयोग हुने सवारी पासलगायत विषयमा दलका नेता तथा उम्मेदवारसँग छलफल गरिएको थियो ।

बैठकले मतदान प्रतिनिधि नियुक्त गर्दा एउटा मतदान केन्द्रमा एकजना मात्र मतदान प्रतिनिधि रहने गरी नियुक्त गर्ने, यसरी नियुक्ति गर्दा सम्बन्धित वडाअन्तर्गतको सम्बन्धित मतदान केन्द्रमा मतदान गर्न पाउने गरी अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिलाई मात्र मतदान प्रतिनिधि नियुक्त गर्ने निर्णय गरेको छ ।मदिरा र नशालुपदार्थको बिक्री–सेवनमा पूर्ण बन्देजजिल्ला प्रशासन कार्यालय मकवानपुरले उपनिर्वाचनलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाको १२ नम्बर वडामा तीन दिनसम्म मदिराजन्य तथा नशालुपदार्थको बिक्रिवितरण, सेवनमा रोक लगाएको छ ।

१३ मंसिर राति १२ बजेदेखि अर्थात आज शुक्रबारबाट १६ मंसिर दिउँस मतदानकार्य सम्पन्न नभएसम्म उक्त कार्यमा रोक लगाइएको हो । प्रशासनबाट उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न १२ नम्बर वडासँग सीमाना जोडिएका अन्य क्षेत्रको ५०० मिटरभित्र मदिरा तथा नशालुपदार्थहरु विक्री वितरण र सेवन गर्न नपाउने गरी सूचना जारी गरिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम उक्त कार्यलाई पूर्णरुपमा रोक लगाइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले जानकारी दिए । प्रशासनको सूचनाको बर्खिलाप हुने गरी कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने ढकालले बताए ।आजबाट मौनअवधि सुरुउपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित (मौन) अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

मौनअवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन । निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ भण्टाअघि निषेधित तथा मौनअवधि लागू गर्ने गर्दछ । यस अवधिको पालना भएनभएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने जनाएको छ ।आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ ।

दुई जिल्ला समन्वय समिति प्रमुख, एक÷एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् । पुरुष मतदाता एक लाख १४ हजार ९००, महिला मतदाता एक लाख ११ हजार ८९६ र अन्य मतदाता ३ जना छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*