बागमतीमा खानेपानी सबैको पहुँचमा पु¥याइने
हेटौंडा- बागमती प्रदेशमा ‘एक घर, एक धारा’ अभियान चलाएर खानेपानीमा सबैको पहुँच पुग्ने गरी सरकारले काम गरिरहेको मुख्यमन्त्री बहादुरसिंह लामाले बताएका छन् ।बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको आयोजनामा हेटौंडामा आयोजित दुईदिने खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी अभिमुखीकरण कार्यक्रमको बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री लामाले प्रदेशभित्र रहेका सबै पालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना बनाउनुपर्ने बताएका हुन् । खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर पालिकाहरुले योजना छनोट गर्नुपर्ने उनको भनाई छ ।
प्रदेशका १ सय १९ पालिकामध्ये २८ पालिकाले मात्र खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) बनाउनु खुशीको कुरा नभएको पनि उनले सुनाए । यो संख्या धेरै नै बढाउनुपर्ने उनले बताए । कार्यक्रममा बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्याम खड्काले सबै पालिकाले वास प्लान बनाउनका निम्ति यो अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए । खानेपानीका अधुरा योजनालाई पूर्णता दिन मन्त्रालयले काम गर्ने उनले प्रतिबद्धता जनाए ।
पालिकाले अब योजना बनाउँदा व्यक्ति र दलको स्वार्थभन्दा माथि उठेर बनाउन पनि उनले आग्रह गरेका थिए । २ दिनसम्म संचालन हुने कार्यक्रमलाई प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष गंगादत्त नेपाल, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, प्रदेशका प्रमुखसचिव डा.हरिप्रसाद लम्साल, आरआरएनएका अध्यक्ष एवम् अमेरिकाका पूर्वराजदूत डा. अर्जुन कार्की, खानेपानी उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्याल, खानेपानी मन्त्रालयका सचिव मोहन शाक्य लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा डा. रजित ओझा र नवीन अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा वागमती प्रदेशका २२ पालिका प्रमुख, उपप्रमुख, प्रशाकीय अधिकृत र खानेपानीसम्बन्धी सरकारी एवम् गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो ।