मकवानपुरमा एकैदिन दुई जनाको मृत्यु

साझाकुरा
२०८१ मंसिर १५, शनिबार १३:१५

हेटौंडा- मकवानपुरमा १४ मंसिर शुक्रबार बिहान दुईवटा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु र एक जना घाइते भएका छन् । एकजनालाई करेन्ट लागेर र अर्कालाई अटोले ठक्कर दिएर मृत्यु भएको हो ।जिल्लाको पश्चिमीक्षेत्र मनहरी गाउँपालिका–८ दारिमबास घर भएका ३८ वर्षीय मंगलसिङ प्रजाको बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीकार्यालय मकवानपुरले जानकारी दिएको छ । घरबाट मनहरी बजारतर्फ ज्यामी काम गर्न जाने क्रममा उनलाई चुँडिएर भुईँमा लत्रिएको ११ हजार भोल्टेजको हाइटेन्सन तारबाट करेन्ट लागेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

मनहरी–८ दारीमबास बस्ने ४० वर्षीय इन्द्रमाया मगर घरबाट मनहरीतर्फ जाने क्रममा बिहान ७ बजे करेन्ट लागेर भुईँमा लडेका प्रजालाई देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । मगरलाई पनि भुईँमा झुण्डिएको तरबाट करेन्टको झट्का लागेको डिएसपी अर्यालले जानकारी दिए । मगर पनि घाइते छिन् ।यसैगरी, शुक्रबार बिहान सवा ६ बजे हेटौंडा उपमहानगरपालिका–६ चौघडाबाट चुच्चेखोला बजारतर्फ जाँदै गरेको अटोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।

कान्तिलोकपथ सडक खण्डमा ना २ ह २६९२ नम्बरको अटोले पदैलयात्री स्थानीय शान्तिटोल बस्ने ६८ वर्षीय जनक राईलाई ठक्कर दिएको थियो । राईको उपचारको क्रममा भरतपुर मेडिकल कलेज चितवनमा मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए । अटो चालक ६ नम्बर वडाको बारुतेका ३१ वर्षीय शंकर सार्की प्रहरी नियन्त्रणमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*