८० प्रतिशत जमिनको माटोमा अम्लीयपन
हेटौंडा- बागमती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिनको माटोमा अम्लीयपनाको समस्या देखिएको छ । हेटौंडाको औद्योगिक क्षेत्रमा रहेको माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश, हेटौंडाले माटो परीक्षणका क्रममा माटोमा उच्चअम्लीयपनको समस्या पाएको हो ।प्रदेशमा माटो परीक्षणमा करिब ८० प्रतिशत माटोमा अम्लीयपनाको समस्या देखिएको माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडाका कार्यालयप्रमुख डा. जनार्दन खड्काले जानकारी दिए । प्रदेशमा माटो परीक्षणका क्रममा माटोमा ५० प्रतिशत प्राङ्गारिकपदार्थको कमी, वर्षाको पानी, माटो चट्टान बन्ने प्रक्रिया र मानवीय व्यवस्थापनका कारण माटोमा अम्लीयपनको समस्या बढ्दै गएको कार्यालयप्रमुख डा. खड्काले जानकारी दिए ।
कृषिचुनको प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले ५० प्रतिशत माटोमा भएको प्राङ्गारिकपदार्थको कमी माटोको दोस्रो ठुलो समस्याका रुपमा रहेकाले गुणस्तरयुक्तप्राङ्गारिकपदार्थको उत्पादन गर्न भकारो सुधार, गहुँतको संरक्षण र सदुपयोग र प्रयोग हुनुपर्नेमा जोड दिए । असन्तुलित रासायनिक मलखादको प्रयोग, परिवर्तित बालीचक्रको अनुसरण र विभिन्न रसायनयुक्त प्रयोगले माटोमा भएको सूक्ष्मजीवाणुको संख्या न्यून हुँदै माटो मृतअवस्थामा पुग्ने बताउँदै माटोमा सूक्ष्म जीवाणुमलको प्रयोग तेस्रो महत्वपूर्ण विषयका रुपमा रहेको उनको भनाइ छ ।
काठमाडौं उपत्यकासहित व्यावसायिक तरकारी, कृषिखेती हुने जिल्ला काभ्रे, ललितपुर, धादिङ, नुवाकोट, चितवन र मकवानपुरको माटोमा अम्लीयपनको समस्या बढी पाइएको उनले बताए । माटो तथा मल परीक्षण प्रयोगशाला, बागमती प्रदेशले विगत चारवर्षको अवधिमा गरेको माटो परीक्षणबाट उच्चअम्लीयपना देखिएको हो । प्रदेशको २० लाख ३० हजार हेक्टर कुल क्षेत्रफलमध्ये तीन लाख २८ हजार २९७ हेक्टर अर्थात् १६.१७ प्रतिशत भूभाग जमिन खेतीयोग्य छ ।
प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अनुसार जसमा दुई लाख ८९ हजार ६६२ हेक्टर जग्गामा खेती गरिएको छ । यहाँको उर्वरा जमिनमा अम्लीयपना हरेक वर्ष ८० प्रतिशतको दरमा देखिएको हो । गाईवस्तुको मलमा कमी आउनु, झार माटोमै कुहाउन छोड्नु, भाडामा जग्गा लिनेले गाईवस्तुको मल नहाल्नुले माटोमा प्राङ्गारिकपदार्थको कमी देखिएको प्रमुख डा. खड्का बताउँछन् ।
माटोमा पाइने नाइट्रोजन, पोटास र फस्फोरसको मात्रा भने स्थिर देखिएको छ । खाद्यतत्व फस्फोरस र पोटासको मात्रा ३० प्रतिशत कमी देखिएको भन्दै खड्काले समस्या नभएको बताए । राष्ट्रिय कृषिगणना २०७८ को तथ्यांकअनुसार प्रदेशका अधिकांश कृषकले माटो परीक्षण नगराएको देखिन्छ । बागमती प्रदेशको कुल कृषक परिवार संख्याको तीन प्रतिशत अर्थात् एक लाख ६ हजार कृषक परिवारले मात्रै माटो परीक्षण गराएका छन् ।







