बालबालिकालाई अभिभावकत्व दिएर संरक्षण गरेकोमा प्रदेशप्रमुखद्वारा प्रशंसा
हेटौंडा-बागमती प्रदेशका प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले अभिभावकविहीन र बाबुआमासँग कैद जीवन बिताइरहेका बालबालिकालाई बालमन्दिरमार्फत् संरक्षणमा राखेरकोमा बाल संगठनको कामको प्रशंसा गरेका छन् ।बालबालिकाको हकहितका लागि कार्य गर्ने सबैभन्दा पुरानो, ठुलो र शसक्त संस्था नेपाल बाल संगठनद्वारा आयोजित पुनर्मिलन तथा पुनर्ताजगी कार्यक्रममा प्रदेशप्रमुख देवकोटाले बालबालिकाको संरक्षण गर्ने कार्यको प्रशंसा गरेका हुन् । बालबालिकाको सरोकारको यो महत्वपूर्ण कार्यक्रमको हिस्सा बन्न पाउँदा आफूलाई खुशी लागेको उनले बताए । पूर्व रास्ट्रपति बिद्यादेवी भण्डारीसमेतको उपस्थितिमा उनले यस्तो बताएका हुन् ।
‘भिन्न परिस्थितिबाट आएका नानीबाबुको खानपान, बास, स्नेह, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, परामर्श, भबिष्यको गोरेटो देखाउने यी सबकार्य कुनै चानचुन कुरा होइनन्’ उनले भने । बालबालिकामा असीमित क्षमता हुने उल्लेख गर्दै प्रदेशप्रमुख देवकोटाले बाज चराजस्तो गगनमा बिचरण गर्ने थुप्रै बालबालिका पालुवा निमोठिएको बिरुवा जसरी बाँचिरहेका बताए । राज्यको मात्र मुख नताकी अबोध नानीबाबुको भबिष्य कोर्न लागिपर्ने नेपाल बाल संगठन तथा बाल मन्दिर र बालबालिकाको क्षेत्रमा काम गर्ने सम्पूर्ण संस्था र सरोकारवाला सबैमा हार्दिकता व्यक्त गरे ।
नेपालको संविधानले मौलिक हकअन्तर्गत बालबालिकाको हकसम्बन्धी व्यवस्था उल्लेख गरेको स्मरण गर्दै बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, बौद्धिक तथा संवेगात्मक विकासमा सबैले पहल गर्नुपर्ने बताए । बालबालिकाको आधारभूत आवश्यकता, प्रतिभा पहिचान र प्रस्फुटनमा गरिने मन, धन, बचन र कर्मको लगानी सबैभन्दा महत्वपूर्ण कार्य भएको उनले बताए । राज्य र मनकारी दाताले नेपाल बाल संगठन र बालमन्दिरको नाममा अर्पेको भौतिक सम्पतिको बारेमा कताकता नरमाइला कुरा सुन्न परेको भन्दै उनले दुःख लागेको बताउँदै सम्बन्धित निकायले यो विषयलाई गम्भीररुपमा लिनुपर्ने बताए ।
२०२१ सालमा स्थापना भएको नेपाल बाल संगठनले ६ दशक पारगरेको छ । ‘समयको खेलले आफन्तसँग बिछोडिए पनि मिलनका दिनले पर्खने उनले बताए । आज यो पुनर्मिलनको पलको साक्षी बन्दा ममा बेग्लै अनुभूति भएको छ, म भावुक भएको छु’ उनले भने ।वि.सं. २०२१ सालमा नेपाल बाल संगठनको स्थापनापश्चात बालमन्दिर भवन निमार्ण गरी विभिन्न जिल्लाबाट प्रतिकूल परिस्थितिमा रहेका बालबालिकाको लागि आवास तथा बालमन्दिर विद्यालय संचालन गर्दै आएको अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बताइन् । ‘समृद्ध राष्ट्रको मूल आधार, सुरक्षा र मुस्कान सहितको बालअधिकार’ भन्ने नाराका साथ संगठनले काम गरिरहेको अध्यक्ष न्यौपानेले बताइन् ।







