६ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिँदै
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–६ नम्बर वडालाई निकृष्ट बालश्रममुक्त, बालविबाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।२७ मंसिर बिहीवार ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मुलनाराकासाथ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी रहेको हेटौंडा उपमहानगरपालिका–६ नम्बर वडा कार्यालयले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । पूर्णखोप वडा घोषणा, पूर्णसाक्षर वडा घोषणा, खुल्लादिसामुक्त वडा घोषणा भईसकेको वडालाई नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ सूचकमा हालसम्म ४८ वटा सूचक शतप्रतिशत र बाँकी ४ सूचकमा घोषणाका लागि आवश्यक न्युनतम नतिजा हासिल गरेको वडा कार्यालयलले जनाएको छ ।
नेपाल सरकारले २०७१ साल मंसिर १६ गतेको निर्णयबाट हेटौंडा नगरपालिकालाई उपमहानगरपालिकामा स्तरबृद्धि गरेको थियो । बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाको १९ वडामध्ये ६ नम्बर वडाको क्षेत्रफल ८.५४ वर्ग किमि रहेको वडा कार्यालयलले जनाएको छ । वडा कार्यालयलका अनुसार पूर्वी सीमानामा वडा नंं १६ र १७, पश्चिममा वडा नंं ७, उत्तरतर्फ मकवानपुरगढी र दक्षिणमा वडा नंं १५ अवस्थित ६ नम्बर वडाको करिव बीच भागबाट पूर्वपश्चिम भएर कर्रा खोला बगेको छ ।
घरधुरी तथ्यांक संकलन सर्वेक्षण, २०७९ अनुसार १८ वर्ष मुनिका २ हजार १ सय बालबालिका रहेको ६ नम्बर वडामा १ हजार १ सय ३४ बालक र ९ सय ६६ बालिका रहेका छन् । तथ्यांक अनुसार कुल बालबालिकाको जनसंख्यालाई आधारमान्दा ४६.१४ प्रतिशत बालिका र ५३.८५ प्रतिशत बालक रहेका छन् । सामुदायिक, संस्थागत र विशेष विद्यालय, बालविकास केन्द्रसहितका जम्मा ७ वटा विद्यालय सञ्चालन रहेको ६ नम्बर वडामा १९ वटा बालसमूहरु र १ वडा बालसञ्जाल रहेको बताइएको छ । जसमा, ४ सय ७५ जना बालवालिका आवद्ध रहेको र विभिन्न संरचनागत समितिमा गरी जम्मा ४ सय ९७ जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको वडा कार्यालयलले जनाएको छ ।
बालमैत्री स्थानीय शासन वडा समिति, वडा बालअधिकार समिति, बालसमूहरु, बालसमूह सञ्जाल, टोल विकास संस्थाहरु, युवा क्लब, आमा समूह, वन समिति लगायतका विभिन्न सामुदायिक संस्थाहरु क्रियाशील रहेको ६ नम्बर वडामा ‘आजका बालबालिका भोलिका कर्णाधार हुन’ भन्ने भनाईलाई मनन् गर्दै २१ औं शताब्दीकाबालबालिकालाई यो भनाईमाथि नै परिमार्जित गर्दै बालबालिकालाई आजैका साझेदार बनाउन सोही अनुसारका काममा सक्रिय बनाउने प्रयास रहेको ६ नम्बर वडाअध्यक्ष एवम् बालमैत्रीस्थानीय शासनयुक्त वडा घोषणा मुलसमारोह समिति संयोजक विष्णुवहादुर दाहालको भनाई छ ।







