प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा पौडेल नियुक्त

साझाकुरा
२०८१ मंसिर २६, बुधबार ११:१७

हेटौंडा- बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा चितवनका हरिप्रसाद पौडेल नियुक्त भएका छन् । मंगलबार बसको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले चितवन राप्ती नगरपालिका–७ का पौडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो । बैठकले बागमती प्रदेश विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीलाई विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीको सदस्यमा मनोनीत गर्न सहमति प्रदान गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । बैठकले कारागार कार्यालयमा लघु उद्यम कार्यक्रम सञ्चालनका लागि बजेट अख्तियारी दिने निर्णय गरेको उनले बताए ।

मन्त्री लामिछानेका अनुसार बैठकले संघीय सरकारअन्तर्गत रहेका निकायका लागि चालु आर्थिक वर्षको बजेट किताबमा भएका योजना कार्यान्वयनका लागि सहमति लिने निर्णय गरेको छ । बैठकले चालूतर्फको बजेट खर्चमा २० प्रतिशत रकम खर्च कटौती गर्ने निर्णय गरेको छ । विपतको समयमा अर्थ विविध शीर्षकको बजेट अपुग भएकाले सबै मन्त्रालयको चालू खर्च कटौती गर्ने निर्णय गरिएको मन्त्री लामिछानेले बताए ।

बैठकले अपा·ता भएका व्यक्तिहरुको सशक्तीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ भने प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेशसभामा लैजाने सैद्धान्तिक सहमति प्रदान गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*