थाहामा सहकारी नियमनलाई प्रभावकारी बनाइने

साझाकुरा
२०८१ मंसिर २८, शुक्रबार ११:०४

हेटौंडा- मकवानपुर थाहा नगरपालिका नगरप्रमुख विष्णुबहादुर विष्टले सहकारीको अनुगमन नियमनमा कडारुपमा प्रस्तुत हुने बताएका छन् ।सहकारीलाई उँधोगति तर्फ धकेल्नका लागि ‘पोलिसीमेकर’ कै हात रहेको नगरप्रमुख विष्टको भनाइ थियो । पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले २५ औं वार्षिकोत्सवको अवसरमा सहकारी संस्था सवलीकरणका लागि स्थानीय सरकारको भूमिका विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख बिष्टले यस्तो बताएका हुन् ।

थाहानगरभित्र रहेका सहकारीले ऐन नियम र उद्देश्य भन्दा बाहिर गएर काम गरे त्यस्ता सहकारीलाई नियमनको दायरामा ल्याइ कारबाहीको प्रक्रिया अगाडि बढाइने विष्टको भनाई थियो । बहुउद्देश्यीयको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि र नगरपालिकाभित्र संचालनमा रहेको सहकारी संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

छलफलमा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष बिष्णुहरि ढकाल जंगलीले सहकारी संस्था सवलीकरणको लागि स्थानीय सरकारको भूमिकाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । ढकालले प्रस्तुत गरेको कार्यपत्रमा आफ्नो धारणा राख्दै हिमशिखर सहकारी डाँडाबासका सुजिन्द्र गोलेले स्थानीय सरकारले थाहाको ग्रामीणभेगमा संचालित सहकारीलाइ हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताए ।

थाहा नगरउपप्रमुख भरत गोपालीले सहकारीको समस्या पहिचानको लागि बृहत छलफलको आवश्यकता रहेको औल्याउँदै, रुपचन्द्र बिष्टले तत्कालीन समयमा गरेको काम पनि सहकार्यको उदाहरण रहेको बताए । स्थानीय सरकार सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता उनले व्यक्त गरे । जिल्ला सहकारी संघका संचालक फणिन्द्र सुवेदीले सहकारीलाई राज्यले हेर्ने दृष्टिकोण फरक भएकोले सहकारी मार्फत गरेको क्रियाकलापलाई विकासको मोडलको रुपमा लिनुपर्ने बताए । भारतको अमुल ब्राण्ड उदाहरणका रुपमा प्रस्तुत गर्दै उनले सहकारी ऐनलाई परिमार्जित गरेर लानुपर्नेमा जोड दिए । सहकारी अभियानलाई श्रम र उत्पादनसँग जोडेर स्थानीय सरकारले योजना बनाउनुपर्ने माग उनको थियो ।

वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझीले सहकारीले आफ्नो समीक्षा गर्ने कार्य न्यून रहेको औंल्याउदै संस्थाहरु सामाजिक उत्तरदायित्वबाट पन्छिएको बताए । आर्थिक अनुशासन र बित्तीय साक्षरता आमसदस्यमाझ पु¥याउन आवश्यक रहेको बताउदै उनले सहकारीमा कामगर्ने कर्मचारीको न्युनतम ज्यालामा एकरुपता हुनुपर्नेमा जोड दिए ।थाहा नगरपालिका सहकारी शाखाप्रमुख अस्मिता तिवारी घिमिरेले थाहामा रहेका विभिन्न सहकारीले विविध कार्यक्रम गरिरहँदा सहकारीशिक्षा दिनमा भने कन्जुस्याइँ गरिरहेको बताइन् । थाहा नगरपालिकाले सहकारीका प्रमुखलाई विभिन्न तालिम दिएको स्मरण गराउदै थाहा नगरपालिका सहकारी शाखा सहकारीसँंग समन्वय गरेर रणनीतिक योजना बनाएर लैजाने उनले बताइन् ।

थाहानगरको ९ नम्बर वडाअध्यक्ष राजकुमार बलामीले सहकारी संस्थालाई बाइपास गरेर थाहा नगरपालिकाको आर्थिक समृद्धि अगाडि नबढ्ने बताए । कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शिवकुमार खत्रीले सहकारीको बिनाधितोको ऋण उठाउन समस्या रहेको बताउदै स्थानीय सरकारले खराब ऋण उठाउन सहयोग गर्नुपर्ने बताए । पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष ढकालको अध्यक्षतामा सम्पन्न छलफलमा संस्थाका अध्यक्ष कृष्णबहादुर बिष्टले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारेका थिए ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष रायमाझी, ४ का नारायण लामा, ७ का शिवराज थिङ, ८ का हेम लामा, ९ का राजकुमार बलामी, १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान, थाहा नगरपालिका सहकारी शाखाका प्रमुख तिवारी घिमिरे, विभिन्न सहकारी संस्थाका प्रतिनिधि, पालुङ बहुउद्देश्यीय सहकारीका लेखासमिति संयोजक कालिचरण बस्नेत, संचालक समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*