हेटौंडामा पनि किराँत समुदायले उधौली पर्व मनाए
हेटौंडा- प्रकृतिको पूजा गरी हेटौंडामा पनि किराँत समुदायले उधौली पर्व मनाएका छन् । किराँत देवास राई उत्थान समाज नेपाल, जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा उधौली साकेला सिली २०८१ अर्थात यले सम्बत् ५०८४ को अवसरमा हेटौंडा–६ चौघडास्थित पिसपार्कमा प्रकृतिको पूजा गर्दै पर्व मनाएका हुन ।किरात देवास राई उत्थान समाज नेपालका केन्द्रीय अध्यक्ष आस्मान राईको प्रमुख आतिथ्यता एवम् हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानिंयाँको विशेष आतिथ्यतामा आइतबार शुभकामना आदानप्रदान भएको हो । कार्यक्रममा अध्यक्ष राईले राजनीतिक र आन्तरिक कारणले किरात समुदाय पछाडि परेको बताए ।
मकवानपुरगढी, चिसापनीगढीलगायतका किराँतीले राज्य गरेको गढीको संरक्षणमा एकजुट हुनुपर्नेमा उनले जोड दिए । राज्यको महत्वपूर्ण निकायमा किराँतीको प्रतिनिधित्व नहुनु दुःखदायी भएको उनको भनाई छ ।यसैगरी कार्यक्रममा बोल्दै उपमेयर बानिंयाँले किराँत समुदायलाई संविधानले नै मुलबासी भनेर पहिचान गरेको जिकिर गरे । विगतमा व्यवस्था परिवर्तनको लागि किराँत समुदायको महत्वपूर्ण भूमिका रहेको उनले बताए । शिक्षा र कृषिको विकास गरी किराँतीको अवस्था परिवर्तनमा लाग्नुपर्ने बेला आएको उपमेयर बानिंयाँको भनाई छ ।
मितिका मकवानपुर अध्यक्ष बद्रीबहादुर राईको सभाध्यक्षतामा भएको कार्यक्रममा ६ नंंं. वडाका वडाअध्यक्ष विष्णुबहादुर दाहाल, पूर्ववडाअध्यक्ष अर्जुनप्रसाद चौलागाई, केन्द्रीय उपाध्यक्ष रामबहादुर राईलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा चण्डिनाच, च्याब्रुङनाच, ढोलनाच लगायत नाचपनि प्रस्तुत गरिएको थियो । यो पर्व ऋतु परिवर्तनसँगै वर्षमा दुईपटक धूमधामका साथ मनाउने गरिन्छ । वैशाखशुक्लपूर्णिमा अर्थात् वसन्त ऋतुमा उभौली र मंसिरशुक्लपूर्णिमा अर्थात् शरद् ऋतुमा उधौली पर्वकारुपमा मनाउने परम्परा रहिआएको छ ।







