हेटौंडा र मनहरीका ७४ प्राबिधिलाई तालिम
हेटौंडा-लघु साना तथा मध्यम उद्यमीका लागि उर्जा प्रभाबकारी डिजाइनसम्बन्धी हेटौंडामा ७४ जना प्राबिधिकलाई तालिम दिइएको छ ।हेटौंडा उपमहानगरपालिकासँगको साझेदारीका बिल्डिङ इनर्जि इफिसेन्सी (बिन) परियोजनाले यहाँका दुईवटा पालिकामा रहेका भवन डिजाइनसम्बन्धी काम गरिरहेका प्राबिधिकलाई तालिम दिइएको हो । हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा रहेर काम गर्ने र सरकारी निकायमा सूचिकृत कन्सल्टेण्टका भवन डिजाइन गर्ने प्राबिधिकलाई ३ दिने तालिम दिइएको हो ।
तालिममा कसरी भवनलाई जोखिममुक्त बनाउँन सकिन्छ, कम लगानीमा व्यवस्थित भवन निर्माणका बारेमा प्राबिधिक तथा बित्तीय संस्थाले कसरी घरको मूल्याङ्कन गर्छन् ? भन्ने बारेमा ध्यान दिँदै तालिम प्रदान गरिएको बिन हेटौंडाका प्रमुख अस्मिता श्रेष्ठले बताइन् । तालिममा संगीता थापा, दिवस अधिकारी, सचिन र अस्मिताले प्रशिक्षण दिएका थिए ।
तालिममा सहभागीलाई हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन् । बिन परियोजनाका अध्यक्ष बिद्या आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रममा हेटौंडा–२ का अध्यक्ष बिष्णुगोपाल महर्जन, उपमहानगरपालिका नक्सा शाखाका प्रमुख उद्धब रिमाललगायतको आतिथ्यता रहेको थियो । बिनले नेपालका बिभिन्न ११ वटा पालिकामा सुरक्षित र प्रभावकारी डिजाइन सम्बन्धी काम गरिरहेको छ ।







