सशक्त नेतृत्वले मात्र व्यवसायीको हितमा काम गर्न सक्छः रानाभाट

साझाकुरा
२०८१ पुष ११, बिहीबार ११:५६

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवारका रुपमा रहेका प्रमोद सिंह रानाभाटले संघको सशक्त नेतृत्वको आवश्यकता बारे आफ्नो स्पष्ट दृष्टिकोणका साथ प्रस्तुत भएका छन् ।व्यवसायीहरुको हक, अधिकार, र हितलाई सुदृढ गर्न आफ्नो उम्मेदवारी घोषणा गरेको रानाभाटले बताए । व्यवसायीक सोच, योजनाबद्ध दृष्टिकोण र सुधारको अठोट लिएर अघि बढिरहेका रानाभाट हाल संघका उपाध्यक्ष छन् । रानाभाट संघको नेतृत्वमा व्यवसायीहरुको हित सुनिश्चित गर्न थप सुधार र सशक्तिकरणको आवश्यकता महसुस गर्छन् ।

रानाभाट भन्छन्, ‘संघले व्यवसायिक वातावरण सुधार गर्नुपर्छ । व्यवसायीहरुको समस्यामा समाधान खोज्ने, उनीहरुको हक र अधिकारका लागि सरकारसमक्ष बलियो आवाज उठाउने आवश्यकता छ ।’व्यवसायीहरुले स्थानीय सरकारदेखि संघीय सरकारसम्म कर प्रणाली, अनुमति प्रक्रिया, र अन्य प्रशासनिक जटिलताका कारण धेरै समस्याहरु भोगिरहेको बताउँदै समाधानमा आफ्नो नेतृत्वको संकले भूमिका खेल्ने उनले बताए । ‘व्यवसायीहरुको समस्या समाधान संघको मुख्य भूमिका हो । व्यवसायीहरुको आवाजलाई सशक्त बनाउँदै उनीहरुको समस्यामा दिगो समाधान खोज्न म प्रतिबद्ध छु ।’

हेटौंडा बजारमा भइरहेको सडक विस्तारलाई व्यवस्थित गर्न र व्यवसायीहरुको हितलाई सुनिश्चित गर्न पनि रानाभाटले सरकारसँग समन्वयकारी भूमिका खेल्न आवश्यक देखेका छन् । ‘सडक विस्तार हेटौंडाको विकासका लागि जरुरी छ । तर, यो काम व्यवस्थित ढंगले अघि बढ्नुपर्छ । व्यवसायी र घरधनीलाई मर्का नपर्ने गरी सरकारले समन्वय गर्नुपर्छ,’ उनले भने । संघलाई सबै व्यवसायीहरुको प्रतिनिधित्व गर्ने प्रभावकारी संस्था बनाउने योजनासहित रानाभाट अघि बढेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*