बागमतीका मन्त्री खड्काले भने, ‘योजना छनोटको विधि नै गलत’
हेटौंडा, १० पुस÷ बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिचाई मन्त्री श्यामबहादुर खड्काले योजना छनोटको विधि नै गलत भएको बताएका छन् ।मकवानपुरगढी गाउँपालिका–४ मा रहेको वाइवा डाँडा लिफ्टीङ सिंचाई उपभोक्ता समितिको ट्याङकीको बुधवार शिलान्यास गर्दै उनले व्यक्ति–व्यक्तिले योजनाको माग गर्दा कार्यान्वयनको पाटो फितलो भएको बताए । आवश्यकताको आधारमा योजना छनोट गर्नुपर्नेमा मन्त्री खड्काले जोड दिएका छन् । निर्वाचित जनप्रतिनिधी, समाजसेवी, बुद्धीजिवी, स्थानिय उपभोक्ताहरुको छलफलबाट नै अधिकतम लाभ प्राप्त हुने योजना छनौट गर्नुपर्ने उनको भनाई छ ।
सम्पन्न भइसकेका योजनाहरुको संरक्षण र सदुपयोगमा पनि ध्यान दिन मन्त्री खड्काले आग्रह गरे । मन्त्री खड्काले ट्याङकी निर्माण पश्चात् तीनसय रोपनी जमिनमा सिचाईको सुविधा पुग्ने बताएका छन् । कुल २० लाखमा १ लाख ५० हजार लिटर क्षमता भएको ट्याङकी निर्माण गर्न लागिएको समितिका अध्यक्ष राजकुमार योञ्जनले जानकारी दिए ।ट्याङकी निर्माण पश्चात् ३ ठाउँबाट पानी वितरण गर्न थप १ करोडको आवश्यकता पर्ने समितिले जनाएको छ । कार्यक्रममा जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय मकवानपुरका कार्यालय प्रमुख निर्मल दाहाल, नेपाली कांग्रसका नेता आनन्दराम पराजुली, वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिनालगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।







