मकवानपुरगढी पत्रकार समाजमा नयाँ कार्यसमिति
हेटौंडा, ११ पुस÷पत्रकारको साझा संस्था मकवानपुरगढी पत्रकार समाजको अध्यक्षमा रेवतिप्रसाद तिमल्सिना ‘नवीन’ अध्यक्षमा चयन भएका छन् ।समाजको बिहीवार गाउँपालिका केन्द्र मक्राञ्चुलीमा भएको प्रथम अधिवेशनले तिमल्सिनाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । तिमल्सिना मकवानपुरमा रहेर एक दशक भन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । मकवानपुरगढीमा छापा सञ्चारमाध्यमसमेत सञ्चालन गरिरहेका उनी अनलाइनखबर डटकमको मकवानपुर संवाददाता र हेटौंडाको साझाकुरा दैनिकमा कार्यरत् छन् ।
यसैगरी, समाजको उपाध्यक्षमा मनोज देवकोटा, सचिवमा श्रीराम अर्जुन, कोषाध्यक्षमा अशोक बजगाईं, सह–सचिवमा भुवन घलान (सोमलाल) चयन भएको निर्वाचन समिति संयोजक तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईंले जानकारी दिए । सदस्यहरुमा सञ्जिव सुनार (प्रहरखबर डटकम), अञ्जना तामाङ न्यासुर, आँचल घिमिरे र सुमिना चौलागाईं चयन भएका छन् ।
२०७७ पुसमा स्थापित मकवानपुरगढी पत्रकार समाजमा करिब करिब ४० जना पत्रकार आबद्द छन् । मकवानपुरमा पत्रकार महासंघ जिल्ला समितिपछि पत्रकारको साझा संस्थाको रुपमा गठित यो समाज दोस्रो हो । हालै सम्पन्न पत्रकार महासंघको निर्वाचनमा बागमती प्रदेश उपाध्यक्ष, जिल्लाका उपाध्यक्ष, दुई जना सहसचिव, दुई जना कार्यसमिति सदस्य, केन्द्रीय परिषद् सदस्य र प्रदेश परिषद् सदस्यमा गरी कुल ८ जना निर्वाचित भएका थिए ।
मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष सरिता दाहालको सभाध्यक्षतामा भएको अधिवेशनमा गाउँपालिकाको निवर्तमान अध्यक्ष बिदुर हुमागाईं, उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिन, ३ नम्बर वडाका अध्यक्ष भागवत घिमिरे, २ नम्बर वडाका अध्यक्ष बखानसिं पाख्रिन, ४ नम्बर वडाका अध्यक्ष अर्जुन तिमल्सिनालगायतको आतिथ्यता रहेको थियो ।
गाउँपालिका अध्यक्ष स्याङ्तानले समाजसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै गाउँपालिकाको समग्र विकासमा पत्रकारको महत्वपूर्ण साथ चाहेको बताए । उनलेमकवानपुरगढीका पत्रकारले गरेको सहयोगको खुलेर प्रशंसा गरे । निवर्तमान अध्यक्ष हुमागाईंले पत्रकारको साझा संस्थाको रुपमा रहेको यो समाजबाट स्थानीय सरकारले धेरै अपेक्षा राख्ने बताउँदै राम्रो पक्षमा साथ दिने र कमि कमजोरी देखिए सचेत गराउनेसम्मको भूमिका निर्वाह गर्न पत्रकारलाई आग्रह गरे ।
महासंघमा निर्वाचित ८ जनालाई स्वागत सम्मान
यसैबीच २८ मंसिर २०८१ मा भएको पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला समितिको न्विाचनबाट निर्वाचित ८ जना समाजका सदस्यलाई स्वागत सम्मान तथा बधाई ज्ञापन गरिएको छ ।पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्षमा निर्वाचित हरि हुमागाईं, जिल्ला उपाध्यक्षमा निर्वाचित ध्रुुव अधिकारी, सहसचिव शिव वियोगी चौलागाईं र सन्नु रिजाल, कार्यसमिति सदस्य श्रीराम अर्जुन र सञ्जिव सुनार, केन्द्रीय परिषद् सदस्य सुजन विडारी र प्रदेश परिषद् सदस्यमा निर्वाचित बलराम पुडासैनीलाई अध्यक्ष स्याङ्तान, निवर्तमान अध्यक्ष हुमागाईं, उपाध्यक्ष पाख्रिनलगायतले प्रमाणपत्रसहित खादा, टीका लगाएर सम्मान तथा बधाई ज्ञापन गरेका थिए ।







