तस्कर समूहले बोलाउँथ्यो पथलैया, निकुञ्जको टोलीले बनायो हेटौंडा ‘मिड प्वाइन्ट’

साझाकुरा
२०८१ पुष १२, शुक्रबार ११:२६

 हेटौंडा- चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तु तस्करी गिरोहलाई नियन्त्रणमा लिने, पक्राउ गर्ने ‘एन्टिपोचिङ युनिट’ बाह्रै महिना सक्रिय हुन्छ ।विश्वकै दुर्लभ एकसिंगे गैंडाको खागको तस्करी गर्ने गिरोहको सुक्ष्म अनुसन्धान गर्ने, आफ्ना विभिन्न संयन्त्रहरु परिचालन गर्ने, ग्राहक बनेर तस्करसम्म पुग्ने लगायतका उपाय यो युनिटले अपनाइरहेको हुन्छ । यही सिलसिलामा केही दिनअघि तस्करीमा संलग्न एक गिरोहले खाग किन्ने व्यक्तिको खोजी गरिरहेको सूचना टोलीले थाहा पाउँछ । र, ग्राहक बनेर सो टोली गिरोहको सम्पर्कमा पुग्छ ।

गिरोहले आफूसँग खाग रहेको भन्दै उपयुक्त स्थानमा मात्रै बिक्री गर्ने बताउँछ । तस्करको समूहले रकमको बार्गेनिङ गर्दै बाराको पथलैयाभन्दा अझै पूर्व बोलाउँछ । तर,निकुञ्जको टोलीले धेरै टाढा जान नहुने भन्दै अस्वीकार गर्छ । पथलैयामा खागको खरिद÷ ब्रिकी गर्ने सहमतिपछि ग्राहक बनेर निकुञ्जको टोली त्यहीँ पुग्छ । तर, त्यतिबेला गिरोहका कुनै सदस्य सम्पर्कमै आएनन् । पछि पुनः हेटौंडामा भेट्ने र खागको कारोबार गर्ने सहमति बन्छ । सोही सहमति अनुसार आज बिहीबार बिहान हेटौंडा उपमहानगरपालिका–८ गर्दोईमा दुईपक्षको भेटघाट हुन्छ ।

तस्करको टोली अपेक्षा गरेको भन्दा ठूलो समूहमा रहेको र ग्राहक टोली निकुञ्जकै भएको हुनसक्ने देखेपछि तस्करहरु भाग्न खोज्छन् । सो क्रममा निकुञ्जले पाँच राउण्ड हवाई फायर गरेर एक जनालाई पक्राउ गर्न सफल भयो । बाँकी सबै फरार छन् । उनीहरुको खोजीकार्य भइरहेको निकुञ्जले जनाएको छ ।निकुञ्जले पक्राउ गरेको व्यक्ति नै निकुञ्जको ग्राहक टोलीसँग निरन्तर सम्पर्कमा भएका प्रमुख व्यक्ति भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिए । ‘एकजना खाग बेच्ने तस्कर पक्राउ परेका छन्, उनीसँग नै हाम्रो नियमित सम्पर्क भएको हो, अब छानबीनका क्रममा थप विषयहरु खुल्दै जाला,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत पन्तले भने, ‘उनीहरुले भनेको खाग पनि हामीले बरामद गरेका छौं ।’

उनीहृलाई चितवन राष्ट्रिय निकुञ्ज वरपरकै क्षेत्रमा चितवनमा नै बोलाएर खाग लिने प्रयास निकुञ्जले गरे पनि सहमति नभएपछि मध्यविन्दु खोजिएको डा.पन्तको भनाइ छ । ‘उनीहरु हामीलाई पथलैयाभन्दा अझै पूर्वतिर बोलाएर आफूलाई सुरक्षित राख्न खोजिरहेका थिए,’ उनले भने, ‘तर, हामी उनीहरुलाई चितवन निकुञ्जकै वरपर ल्याउन खोजिरहेका थियौं ।’डा. पन्तका अनुसार निकुञ्जका १२ जनाको टोली तस्करहरुसँग डिल गर्न विभिन्न तरिकाले खटिएको बताए । पक्राउ परेका मुख्य व्यक्तिलाई निकुञ्जको हिरासतमा राखिएको छ । उनको साथबाट बदामद गरिएको वस्तु खाग हो वा होइन भन्ने विषयमा प्रहरीको विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइनेछ । उनको साथमा रहेको मोवाइल पनि निकुञ्जले बरामद गरेको छ । पक्राउ परेका व्यक्तिलाई नै प्रमुख आधार बनाएर अरु संलगनहरुको खोजी गरिने डा.पन्तले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*