मनहरीमा ७२ वर्षीया रुम्बाको ज्यान लिने बाघ नियन्त्रणमा
हेटौंडा- मकवानपुरको पश्चिमीक्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको छ ।चारवटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो । मनहरी–५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छीमाया रुम्बा मृत अवस्थामा आइतबार राति करिब १० बजे घर नजिकैको बारीमा भेटिएकी थिइन् । बाघले सोमबार बिहान बसन्तपुरका सूर्यबहादुर मोक्तानको खोरमा पसेर ७ वटा बाख्रा मारेको थियो । दुईवटा घटनापछि बसन्तपुरबासी त्रसित बनेका थिए ।
मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालका अनुसार १५ पुस सोमबार दिउँस २ बजेबाट बाघको खोजीका लागि निकुञ्ज शुरक्षार्थ मनहरी गाउँपालिका–३ लामिटार वेशबाट खटिएको नेपाली सेनाको ४ वटा हात्ती सहितको टोली, चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रण प्राविधिक टोली ४ जना र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिन सफल भएको हो ।
घटना भएको क्षेत्रमै बाघ रहेको पाइएको छ । बाघलाई खोजी गर्ने क्रममा आज साँझ ७ बजेको समयमा मनहरी–५ बसन्तपुरस्थित सुकौराखोलामा एम्बुस थापेर बन्दुकबाट लट्याउने सुई लगाई (डार्ट प्रविधि)द्वारा नियन्त्रणमा लिइएको डिएसपी अर्यालले जानकारी दिए । बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिएको छ ।मनहरीमा बाघ, हात्ती लगायतका वन्यजन्तुको आतंक विगतदेखि नै छ । ४ महिनाअघि मात्रै मनहरी–६ प्रतापुरमा भैंसीले बाघ मारेको थियो । गत ५ भदौमा मनहरी–६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्ने क्रममा उल्टै भैंसीले प्रतिकार गर्दा बाघ मरेको प्रहरीको घटना मुचुल्का र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीको रिपोर्टले दाबी गरेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वीक्षेत्र मध्यवर्ती वनसँग मनहरी जोडिएकाले यहाँ हरेक वर्ष वन्यजन्तुको आक्रमणले जनधनको क्षति हुँदै आएको छ । स्थानीयले वन्यजन्तुको जोखिम न्युनीकरणका लागि तारबार लगाएर बस्ती क्षेत्रको संरक्षणको माग गर्दै आए पनि राज्यले ध्यान दिएको छैन । मनहरीको पश्चिम क्षेत्रमा पटक–पटक हात्तीले पनि क्षति गर्ने गरेको छ ।मनहरी गाउँपालिकाको हेटौंडा उपमहानगरसँग सीमा जोडिएको पूर्वीक्षेत्र पर्सा राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको छ । पर्सा निकुञ्जबाट आएका वन्यजन्तुले पनि मनहरी–१ देखि ४ नम्बर वडा र हेटौंडाको १२,१३,१४ नम्बर वडामा आंतक मच्याउँदै आएका छन् ।







