बालश्रम अन्त्य हुनुपर्छः मन्त्री महर्जन
हेटौंडा- बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले समृद्धिका लागि बालश्रम अन्त्य हुनुपर्ने बताएका छन् । मंगलबार हेटौंडामा आयोजित बालश्रम अन्त्यका लागि निजीक्षेत्रको भूमिकासम्बन्धी छलफलमा बोल्दै मन्त्री महर्जनले बालश्रम अन्त्य नभएसम्म समृद्धि हासिल गर्न नसक्ने बताएका हुन् ।मन्त्री महर्जनले पछिल्लो समय गरिबीका कारण मात्रै बालश्रम नहुने बताए । बालबालिका बालश्रममा लाग्नुको मुख्य कारण परिवारिक कलह, अशिक्षा, विद्यालय टाढा हुनु लगायतले पढाइ छोडेर बालश्रममा लाग्ने गरेको बताए । यसरी समाजमा भएका बालश्रम अन्त्य गर्नका लागि प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नीतिगत ढंगबाट अघि बढ्न बालबालिकासँग सरोकार राख्ने संघसंस्थासँग छलफल गरेर अघि बढ्ने मन्त्री महर्जनले बताए ।
उनले भने, ‘परिवारमा कलह भएकै कारण बालबालिकाले पढाई छाड्ने गरेका छन् । प्रायःजसो कलह आर्थिक अभावका कारण हुनेगरेको उदाहरण थुप्रै छन् । जसकारण आर्थिक उपार्जन गर्ने क्रियाकलाप सञ्चालन गर्न मन्त्रालयले नीति बनाएर अघि बढ्छ ।’ मन्त्री महर्जनले बालश्रम अन्त्य गर्नका लागि प्रदेशका अन्तर मन्त्रालयको सम्बन्ध कायम राख्न जरुरी रहेको र आफूहरुले सामाजिक विकास र उद्योग मन्त्रालयसँग सहकार्य गर्ने प्रतिवद्धता समेत जनाए । विद्यार्थीको विद्यालय टाढा भएकै कारण विद्यालय छोड्नेक्रम बढेको उनले बताए ।
दिगो विकास लक्ष्य ८.७ का लागि नागरिक मञ्च बागमती प्रदेशका अध्यक्ष प्रकाश खतिवडाले बालश्रम अन्त्यका लागि सबैको सहयोग आवस्यक रहेको बताए । श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा स्वतन्त्रता अभियान नेपाल, दिगो विकास लक्ष्यका लागि नागरिक मञ्च र राष्ट्रिय बालसंरक्षण सञ्जालको सहकार्य रहेको थियो । श्रम मन्त्रालयमा सचिव बलराम निरौलाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री महर्जनको प्रमुख आतिथ्यता रहेको थियो भने बालबालिकासँग सरोकार राख्ने विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।







