मकवानपुरतर्फको फाष्टट्रयाक निर्माणमा वैकल्पिक बिजुली दिइने
हेटौंडा-नेपाल विद्युत प्राधिकरणले काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्टट्रयाक) अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति गर्ने भएको छ ।विद्युत् अभावमा फास्ट ट्रयाकको निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको छ । यो क्षेत्रका बासिन्दाको विद्युत् आपूर्तिमा भने कुनै समस्या छैन । फास्टट्रयाकको माण्डु, माल्टाबेंसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, ग्यालरी सुरुङलगायत संरचना निर्माणका लागि आवश्यक विद्युत् अभावमा निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी आपूर्ति गर्न लागेको हो । फास्टट्रयाकलाई करिब १२ मेगावाट विद्युत् आवश्यक पर्नेछ । यसक्षेत्रमा चार प्याकेजमा निर्माणकार्य भइरहेको छ ।
विद्युत आपूर्ति नहुँदा फास्टट्रयाक निर्माणमा समस्या भएको नेपाली सेनाले जानकारी गराएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाललगायत सम्मिलित उच्चस्तरीय टोलीले सोमबार माण्डु माल्टाबेंसी क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । टोलीले पुनर्निर्माण भइरहेको बागमतीखोला साना जलविद्युत आयोजना र धोर्सिङ सबस्टेसनको भ्रमण गरी तत्काल विद्युत् आपूर्ति गर्न सकिने विभिन्न विकल्पकमा सम्बन्धित पदाधिकारीसँग छलफल गरेको थियो ।
कार्यकारी निर्देशक घिसिङले आयोजना सञ्चालनमा नआएसम्मका लागि धोर्सिङ सबस्टेसनमा पावर ट्रान्सफर्मर थप्ने र धोर्सिङ–माण्डु लाइनलाई ११ केभीमा चार्ज गरी फास्टट्रयाकलाई विद्युत् आपूर्ति दिनु तत्कालका लागि उपयुक्त विकल्प भएको बताए । उपकार्यकारी निर्देशक सिलवालले लाइन पुनस्र्थापनाका लागि स्थानीय रुपमा गर्नुपर्ने आवश्यक काम तत्काल अगाडि बढाउन पालुङ र हेटौंडा वितरण केन्द्र प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाअन्तर्गत कुलेखानी पहिलो जलविद्युत केन्द्र धोर्सिङबाट माण्डुसम्मको पहिले चालू रहेको ६६ केभी लाइनलाई ११ केभीमा सञ्चालनमा ल्याइने भएको छ । काठमाडौंमा जगेडामा रहेको २२ दशमलव ५ एमभिएको पावर ट्रान्सफर्मरलाई धोर्सिङ सबस्टेसनमा लगेर त्यहाँ जडान गरी सोहीमार्फत फास्टट्रयाकका लागि आवश्यक विद्युत् आपूर्ति गरिनेछ । धोर्सिङ सबस्टेसनमा स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि हाल ५ एमभिए क्षमताको पावर ट्रान्सफर्मर पूर्ण भारमा चालू रहेकाले थप विद्युत् प्रवाह गर्न नसकिने हुँदा अर्को ठूलो क्षमताको ट्रान्सपर्मर थप्न लागिएको हो ।
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले माण्डु हाइड्रोपावर लिमिटेडले सञ्चालन गरेको २२ मेगावाटको बागमती खोला साना जलविद्युतको विद्युत गृहलगायतका संरचनामा ठूलो क्षति पु¥याई विद्युत उत्पादन बन्द हुँदा त्यसपछि फास्टट्रयाकअन्तर्गत खण्डमा विद्युत आपूर्ति हुन सकिरहेको छैन । बागमती नदीमा आएको बाढीले आयोजनाबाट उत्पादित विद्युत प्रवाह गर्ने स्वीचयार्ड र त्यहाँ प्राधिकरणले राखेको पावर ट्रान्सफर्मरलगायतका उपकरणसमेत बगाएको थियो ।
आयोजनाबाट उत्पादित विद्युत् ६६ केभी प्रसारण लाइनमार्फत धोर्सिङ र ३३ केभी लाइनमार्फत ललितपुरको माल्टा सबस्टेसनतर्फ प्रवाह गरिएको थियो । माल्टा सबस्टेसनबाट ११ केभी लाइनमार्फत फास्टट्रयाकलाई आपूर्ति दिइएकोथियो । माल्टा सबस्टेसनमा ललितपुरमै सञ्चालनमा रहेको अर्को २ मेगावाटको खानीखोला जलविद्युत आयोजना पनि जोडिएको थियो । तर, बाढीपहिरोले खानीखोलामा पनि क्षतिपुगेपछि माल्टा सबस्टेसन विद्युत् स्रोतबिहीन बनेको थियो । जसका कारण फास्टट्रयाकको विद्युत् आपूर्ति बन्द भएको हो ।







