सहकारीद्वारा उत्पादित वस्तुको प्रदर्शनी मेला सुरु
हेटौंडा-जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको आयोजनामा हेटौंडामा तीनदिने प्रदर्शनी तथा मेला सुरु भएको छ । मंगलबार प्रदर्शनी तथा मेलाको उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्क्षी विकास मन्त्री प्रकाश श्रेष्ठले प्रदेशभित्र कार्यक्षेत्र रहेका सहकारीलाई नियमन र व्यवस्थित गर्दै अर्थतन्त्रको तीनखम्बे नीतिअनुरुप सहकारीलाई थप व्यवस्थित गरी लैजाने बताए ।
उनले सहकारी आन्दोलनले मात्रै उत्पादन र बजारलाई व्यवस्थापन गर्दै अर्थतन्त्र बलियो बनाउन सक्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै बागमति प्रदेशकी उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले देशको आर्थिक संवृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । १८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा सहकारी तथा सहकारीका शेयर सदस्यद्वारा उत्पादित बस्तु बिक्रीवितरणका लागि राखिएको छ । संस्थाको नवनिर्मित भवनमा जारी प्रदर्शनीमा हस्तकला, खाद्यसामग्री, ताजा तरकारीलगायत ४० वटा स्टल रहेको संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले बताइन् ।
जिल्ला बचतमा १ सय ३५ सहकारी आवद्ध रहेका छन् । संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, राष्ट्रिय सहकारी महासंघका सदस्य बद्रीप्रसाद लम्साल, हेटौंडा–२ का वडाअध्यक्ष विष्णुगोपाल महर्जन, बागमती प्रदेश साकोसका अध्यक्ष उद्धव सापकोटा, प्रदेश सहकारी रजिष्ट्रार कुमार तामाङ, उद्योग तथा वाणिज्य कार्यालय प्रमुख रामप्रसाद भुषाल, हेटौंडा उपमहानगरका उद्योग, पर्यटन तथा सहकारी शाखाप्रमुख हिमप्रसाद पौडेल लगायतको आतिथ्यता रहेको थियो ।







