महिला आरक्षण सदस्यमा मेनकाको उम्मेदवारी

साझाकुरा
२०८१ पुष २६, शुक्रबार ११:१३

हेटौंडा-बिगत १२ बर्षदेखि मकवानपुरमा रहेर टेलरिङ व्यवसाय गर्दै आएकी युवा व्यावसायी मेनका श्रेष्ठले मकवानपुर उद्योग वाणिज्य संघको उद्योगतर्फ महिला आरक्षण सदस्यमा उम्मेदवारी दर्ता गरेकी छन् ।घरबाटै टेलरिङ व्यावसाय सुरुवात गरेकी श्रेष्ठले २०६३ देखि विभिन्न संघसस्थाको सहकार्यमा टेलरिङ तालिम सञ्चालन गर्दै आएकी हुन् । उनले २०६९ सालदेखि जयप्रकृति सिलाई प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएकी छन् । श्रेष्ठले महिला समूहसँग मिलेर खोलिएको हेटौंडा गार्मेण्ट उद्योगको अध्यक्ष भएर गार्मेण्ट उद्योग सञ्चालन गर्दै २५ जनालाई प्रत्यक्ष र थप ७ जनालाई अप्रत्यक्ष रोजगार सृजना गरी आर्थिक विकासमा टेवा पु¥याउदै आएकी छन् ।

२०७२ देखि उद्योग वाणिज्य संघ मकवानपुरको सदस्याता लिँदै संघको महिला उद्यमी समितिमा रहेर काम गरेकी श्रेष्ठ विशेष गरी सिटिइभिटीको प्रशिक्षक एवम् परीक्षानिरीक्षक भएर काम गर्दै आएकी छन् । स्काउटलगायत सामाजिक संघ–सस्थाको नेतृत्व लिएर काम गरेकी श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश महिला समितिको सहसंयोजक रहँदा विभिन्न कार्य गरेकी थिइन् ।संघको अघिल्लो कार्यकालमा थोरै मतले उद्योगतर्फको महिला आरक्षण सदस्यमा उपविजेता बनेकी श्रेष्ठले उद्योगी ब्यवसायीको हकहितमा काम गर्न पुनः सोही पदमा उम्मेदवारी दिएको बताइन् । ‘यसपटक मलाई सबै व्यवसायीको माया र साथ रहने अपेक्षा गरेको छु,’ उनले भनिन् । अनिल अग्रवालको प्यानलबाट उम्मेदवारी दिएकी श्रेष्ठले अग्रवालको टिमको पक्षमा मतदान गर्न आग्रह गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*