गाँजाखेतीलाई ‘बैध’ गरिनुपर्छः मुख्यमन्त्री लामा
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मकवानपुरको राक्सिराङ पुगेर संघीय सरकारले ऐन बनाएर गाँजाखेतीलाई बैध गरिनुपर्ने बताएका छन् ।राक्सिराङ गाउँपालिकाको १७ औ हिउँदे अधिवेशनलाई उदघाटन गर्न राक्सिराङको चैनपुर पुगेका मुख्यमन्त्री लामाले सरकारले कानुन निर्माण गरेर गाँजाखेती गर्ने वातावरण तयार गर्नुपर्ने बताएका हुन् । हिउँदे अधिवेशनलाई सम्बोधन क्रममा मुख्यमन्त्री लामाले नागरिकको आवश्यकता अनुसारको विकास र गुणस्तरीय सेवा सहजरुपमा प्रदान गर्नु अहिलेको आवश्यकता रहेको तर, त्यसको लागि आन्तरिक समस्या र कानुनी अड्चन सुल्झाउनुपर्ने बताएका छन् ।
उनले सीमान्तकृत वर्गको नागरिकको जीवनस्तर सुधारका लागि प्रदेश सरकारले रणनीतिक योजना कार्यान्वयनमा ल्याउने बताएका छन् । उनले चेपाङ समुदायको विकास र उत्थानका लागि संरक्षितक्षेत्र घोषणा गरी कार्यक्रम कार्यान्वयनको चरणमा बागमती प्रदेश सरकार रहेको उदघोष गरेका छन् । मुख्यमन्त्री लामाले राक्सिराङ हुदै धादिङको आदमघाट जोडिने बाटोलाई बहुबर्षीय योजनामा पार्न सरकार लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसैगरी, मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका प्रमुखसचेतक महेशकुमार बर्तौलाले स्थानीय तहले सिन्डिकेट लगाउदा संसदहरु जनताका विषयमा जनप्रतिनिधिसँग जोडिन नसकेको आरोप लगाएका छन् । उनले स्थानीय तहका प्रमुख÷ उपप्रमुखले संघ तथा प्रदेश सांसदसँग समन्वय गरेर अघि बढ्नु पर्ने बताएका छन् ।गाउँपालिकाले अधिवेशनको अबसरमा पत्रकारदेखि कृषक, टोल विकास संस्था, शिक्षक र महिला उद्यमी, कर्मचारीलाई सम्मान गरेको छ । गाउँपालिकाको गतिविधि र समग्र जनोसरोकारको कुरामा सञ्चारमाध्यममार्फत राक्सिराङको पहिचान गराउन सहयोग पु¥याएको भन्दै प्रष्टखबरका बरिष्ठ संवाददाता सुनिल शिवाकोटी र समृद्धसमाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक सुरेश श्रेष्ठलाई नगद सहित प्रशंसापत्रले सम्मान गरिएको हो ।
गाउँपालिकाले शिक्षकतर्फ वडा नम्बर ७ मा रहेको दामाराङ आधारभूत विद्यालयका शिक्षक कौशिबहादुर सिंह बागेश्वरी माविका अवकाशप्राप्त कार्यालय सहयोगी युद्धबहादुर खत्री र विद्यालयतर्फ गाउँपालिकाको वडा नम्बर २ कुडुलेमा रहेको प्रजाप्रगति आधारभूत विद्यालयलाई सम्मान गरिएको हो । त्यसैगरी गाउँपालिकाले सञ्चालन गरेको पालिकास्तरीय परीक्षामा उत्कृष्ट हुने धिराङ आधारभूत विद्यालयका छात्र इन्द्रबहादुर चेपाङ र बागेश्वरी माविका छात्रा स्यामुमाया रुम्बालाई सम्मान गरिएको हो ।
२०८० को एसइइ परीक्षामा उत्कृष्ट भएका सूर्योदय माविका लक्ष्मण प्रजा र कंचन राना, उत्कृष्ट गैरसरकारी संस्थातर्फ बिध्नहर्ता नेपाल, उपभोक्ता समितितर्फ कोलगैरी–दुंगु सडक स्तरीकरण योजना, महिलाउद्यमीतर्फ दिदीबहिनी कृषि तथा पशुपंक्षीपालन कृषक समूह, कृषिफर्मतर्फ लरिन एकीकृत कृषि पशुपालन फर्म, समाजसेवी राजेन्द्र प्रजालाई प्रशंसापत्रसहित सम्मान गरेको हो ।
कार्यक्रममा मकवानपुरका प्रजिअ तीर्थराज चिलुवाल, मकवानपुरका प्रहरीउपरीक्षक विश्वराज खड्का, बागमती प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष वनस्तम थिङ लगायतको आतिथ्यता रहेको थियो ।







