राक्सिराङ–७ चेपाङ सांस्कृतिक तथा पर्यटनक्षेत्र घोषित

साझाकुरा
२०८१ पुष २७, शनिबार १३:१८

हेटौंडा- सीमान्तकृत चेपाङ जातिको बाहुल्यता रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले चेपाङ सांस्कृतिक तथा पर्यटनक्षेत्र घोषणा गरेको छ ।गाउँपालिकाको बिहीबार भएको गाउँसभाले अधिकांश चेपाङ समुदायको मात्र बसोबास रहेको राक्सिराङ–७ वडालाई चेपाङ सांस्कृतिक तथा पर्यटन वडा घोषणा गरेको हो । गाउँसभाको बैठकमा कार्यपालिका सदस्य हबिल प्रजाले चेपाङ सांस्कृतिक तथा पर्यटनक्षेत्र घोषणासम्बन्धी प्रस्तावमा कार्यपालिका सदस्य रामबहादुर प्रजाले समर्थन जनाएका थिए । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले यो प्रस्ताव सभामा निर्णयार्थ प्रस्तुत गरेकोमा सर्वसम्मतले पारित गरेको हो ।

सीमान्कृत चेपाङ समुदायको आर्थिक, सामाजिक तथा सास्कृतिक संरक्षण गर्ने तथा चेपाङको थातथलोको संरक्षण गरी पर्यापर्यटन प्रबद्र्धन र बिस्तार गर्ने उद्देश्यकासाथ चेपाङ सांस्कृतिक तथा पर्यटनक्षेत्र घोषणा गरिएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए । विपन्न चेपाङ समुदायको जीविकोपार्जन कार्यक्रमअन्तर्गत संरक्षितक्षेत्रमा ‘एकटोल एक उत्पादन’ कार्यक्रम ल्याइने अध्यक्ष मल्लले बताए । साथै संरक्षितक्षेत्रमा कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले छुट्टै वार्षिक ५० लाख रुपैयाँ बजेट छुट्याउने उनले बताए ।
राक्सिराङ ७ नम्बर वडामा धिराङ, दामराङ जस्ता विकट बस्तीहरु छन् । यो वडामा पुग्नका लागि चितवन जिल्लाको भण्डारा हुँदै जानुपर्ने बाध्यता छ ।

भर्खरै मात्र गाउँमा मोटरबाटो पुगेता पनि अझै व्यवस्थित हुन सकेको छैन । विपन्न चेपाङ जातिको उत्थानका लागि विभिन्न तहका सरकारले कार्यक्रम घोषणा गरेपनि त्यो प्रभावकारी नभएकाले स्थानीय तह आफैँ जागरुक भएर विशेषक्षेत्र घोषणा गरिएको अध्यक्ष मल्लको भनाइ छ ।संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारअनुसार नै आफूहरु अघि बढेको उनको भनाइ छ । संविधानको अनसूची (८) र अनुसूची (९) बमोजिमको सूचीमा भाषा संस्कृति र ललितकलाको संरक्षरण र विकास गर्ने कानुन स्थानीय तहले बनाउन सक्ने अधिकार दिएको छ भने स्थानीय सरकार सञ्चालन ऐनमा पनि गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका कुनै स्थानलाई संरक्षितक्षेत्र घोषणा गर्न सक्ने उल्लेख रहेको छ ।

संविधानको मौलिक हकअन्तर्गत प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषाको प्रयोग सांस्कृतिक जीवनमा सहभागिता हुने एवम् भाषा, लिपि सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र समाधान गर्ने हक हुनेछ भनी उल्लेख गरेको छ । राक्सिराङको गाउँसभाको हिउँदे अधिवेशनबाट अर्धवार्षिक समीक्षा पारित गरिनुका साथै न्यायिक समितिको वार्षिक प्रतिवेदन पारित र मेलमिलापकर्ताको नामावली अनुमोदन गरिएको छ ।बजेट तथा कार्यक्रम र विनियोजन ऐनसमेत संशोधन गरिएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन नतिजा माथि छलफल गर्ने प्रस्ताव पारित गरिनुका साथै गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गरी पारित गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*