मेयर लामाले भनिन, ‘सडक विस्तारको समस्या छिट्टै हल हुन्छ’

साझाकुरा
२०८१ पुष २८, आईतवार ०९:१९

हेटौंडा-हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले हेटौंडा बजारक्षेत्रको सडक विस्तारको समस्या छिट्टै हल हुने बताएकी छिन् ।विगत लामो समयदेखि अवरुद्ध भएको हेटौंडा बजारक्षेत्रको सडक विस्तारको विवाद समाधान हुने चरणमा रहेको उनले बताइन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको छैठौं जिल्ला अधिवेशनको उद्घाटनमा बोल्दै मेयर लामाले एशियन हाइवे अन्तर्गत रहेको हेटौंडा बजारक्षेत्रको राष्ट्रिय राजमार्गको समस्या हल हुने चरणमा रहेको बताइन् ।

एशियाली विकास बैंकले हेटौंडा बजारक्षेत्रको सडक निर्माणको विषयमा अध्ययन गरिरहेको र अध्ययनको प्रतिवेदन सरकारलाई बुझाउने तयारी रहेको उनले बताइन् । आगामी चैतसम्ममा एडिवीले प्रतिवेदन सरकारलाई बुझाएर राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने हेटौंडा बजारक्षेत्रको सडक विस्तारको काम अघि बढ्ने उनको भनाई छ । हेटौंडा बजारक्षेत्रको २५ मिटर सडक विस्तारको विवादका कारण विकास निर्माणसँगै नागरिकमा पनि समस्या भइरहेको उनले बताइन् ।

हेटौंडा बजारक्षेत्रको सडककिनारमा रहेका जग्गाको मुआब्जा नदिएपनि क्षती भएको भौतिक संरचनाको क्षतीपूर्ति दिएर २५ मिटर सडक निर्माण गर्न उपमहानगरपालिकाले लविङ गरिरहेको उनले बताइन् । उनका अनुसार हेटौंडा उपमहानगरपालिकाले शिक्षा र स्वास्थ्यक्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको छ । उपमहानगरपालिकाले नागरिकको स्वास्थ्यसेवाको पहुँच वृद्धिगर्ने उद्देश्य अनुसार २ वटा नगर अस्पताल संचालनमा ल्याएको मेयर लामाले बताइन् । हेटौंडामा नै स्नातक तहमा कानुन विषय अध्यापनको व्यवस्था गरिएको र कृषि प्राविधिक तथा इन्जिनियरिङ विषयको अध्यापनको पहल भइरहेको उनले बताइन् ।

अध्यक्षमा वाइवाफोनिज मकवानपुरमा नवराज वाईबाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा सन्देश थिङ, सचिवमा मनिता राना, कोषाध्यक्षमा भुवन घलान, सहसचिवमा निशा गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा जमुना थिङ, सम्झना थापामगर, अन्जना न्यासुर, रवीन्द्र वाईबा, भुपेन्द्र रानामगर, विवेक सिन्तान र दिव्यदृष्टि लामा चयन भएका छन् । फोनिजका अध्यक्ष अशोक सुजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार मोहन सांगामीलाई नगद सहित सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*