चौपाया व्यवसायीको व्यवस्थापन गछौं : प्रवक्ता न्यौपाने
हेटौंडा-हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नं. वडा अध्यक्ष सविन न्यौपानेले चौपाया व्यवसायीहरुको उचित व्यवस्थापन गरिने बताएका छन् । मकवानपुर चौपाया व्यवसायी हकहित संघको प्रथम वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रवक्ता न्यौपानेले चौपाया व्यवसायीहरु उचित स्थानको खोजीमा रहेको तर हालसम्म व्यवस्थित हुन नसकेको प्रति चिन्ता व्यक्त गरे । प्रदेश सरकारले हेटौंडा १ नं. वडाको चौकीटोल झोलुङ्गे पुल नजिक आवश्यक परामर्श बिना खसी बजारको लागि संरचना निर्माण गरेको तर उक्त स्थान व्यवसायीहरुको लागि अनुपयुक्त भएकोले हाल व्यवसायीहरु जरुवाटोलस्थित सब्जीमण्डी पछाडी अव्यवस्थित रुपमा बस्न बाध्य भएको उनले बताए ।
प्रवक्ता न्यौपानेले व्यवसायीलाई असहज भएकै कारण सब्जीमण्डी पछाडी अस्थायी टहरा बनाएर भएपनि केही सहजता प्रदान गरिएको बताए । ‘हेटौंडा उपमहानगरपालिका चौपाया व्यवसायीहरुको उचित व्यवस्थापन गर्न तत्पर छ’, प्रवक्ता न्यौपानेले सोही स्थानमा थप टहरा निर्माण र व्यवस्थित शौचालय बनाएर व्यवसायीहरुलाई सहज बनाउन आफूहरु तयार रहेको बताए । संघ अध्यक्ष राजु कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रवक्ता न्यौपानेले चौपाया व्यवसायी अब ‘दलाली’ नभएर किसान र उपभोक्ता बीचको ‘मध्यस्थकर्ता’ रहेको बताए ।
उनले किसानको उत्पादनलाई उचित मूल्य प्रदान गरेर उपभोक्तालाई मासु बिक्री गर्ने व्यवसायीसँग थोरै मुनाफा खाएर काम गर्ने हुँदा उनीहरुको महत्व अत्यन्तै रहेको बताए । कार्यक्रममा नेपाल फलफुल तथा तरकारी व्यवसायी संघ मकवानपुरका पुर्वअध्यक्ष खड्गबहादुर मोक्तान, संस्थाका उपाध्यक्ष नारायण प्रसाद न्यौपाने, सचिव हेमबहादुर थापालगायतले संस्थाको गतिविधिको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।







