मउवा संघ निर्वाचनः मतदान १८१६, सचिवमा खतिवडा र कार्की बरारबर मत
हेटौंडा- उद्योगी, व्यवसायीको छाता संगठन मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको २१ पदमा पदाधिकारी तथा सदस्य चयन गर्न आज शनिवार भएको निर्वाचनमा एक हजार आठ सय १६ ले मतदान गरेका छन् ।संघको कुल २८ पदका लागि बिहीवार साढे १० बजेदेखि १२ बजेभित्रमा ४९ जनाले उम्मेदवारी दर्ता गराएकोमा ७ जना निर्विरोध भएका थिए । बाँकी २१ पदमा ४२ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा भएको हो । बिहान ९ः३० बजेदेखि ४ः३० बजेसम्म मतदान चलेको थियो । मतदान कार्य पल्पसा सभाहलभित्र भएको थियो । मतदात सकिएलगत्तै पल्पसामा नै मतगणना सुरु गरिएको हो । यसवर्षको निर्वाचनमा २ हजार ४६ जना मतदाता भएपनि १८१६ जनाले मात्र मतदान गरेका थिए ।
एसोसिएसटतर्फ उपाध्यक्षमा विष्णु खनाललाई पराजित गर्दै उज्ज्वल चौलागाईं बिजयी भएका छन् । एसोसिएट सदस्यमा अंकिता सुमार्गी र नवराज खतिवडा बिजयी भएका छन् । सुमार्गीले ५४ मत, खतिवडाले ६४ मत प्राप्त गर्दा पुजन विडारीले ३८ मत ल्याएका छन् । वस्तुगतर्फ उपाध्यक्षमा खाद्यान्न व्यवसायी संघका काव्यमणि अधिकारी बिजयी भएका छन् । अधिकारीले १५ मत प्राप्त गर्दा ढुवानी एसोसिएसनका प्रदीप अर्याल ११ मतका साथ पराजित भएका हुन् ।
वस्तुगतकै सचिवमा कपडा तथा तयारी पोशाक संघका नेत्रप्रसाद खतिवडा र क्रसर उद्योग व्यवसायी संघका राजाराम कार्कीले १३÷१३ मत ल्याएर बराबरीमा उभिएका छन् । मतगणनामा बराबरी (ड्र) भएपछि सपथग्रहणका दिन गोलाप्रथाबाट बिजेता चयन गरिने सहमति भएको निर्वाचन संयोजक ईश्वरराज ढकालले जानकारी दिए । वस्तुगतमा व्यवसायीहरुको पेशागत संस्थाको आबद्धता रहेको हुन्छ । वस्तुगत सदस्यमा घरजग्गा व्यवसायी संघका शम्भु पुडासैनीले १२ मत ल्याएर बिजयी भएका छन् । वस्तुगततर्फ १ सदस्य पद रहेको छ । फर्निचर व्यवसायी संघका कृष्णप्रसाद अर्याल ११ मत, क्यान महासंघका गोविन्द चौलागाईंले ३ मत प्राप्त गरेका छन् । मुद्रण उद्योग संघका राजु नेपालको पिता गोकुल नेपालको बिहीबार निधन भएपछि उमेद्वारी दिएका नेपाल बाबुको काजकिरियामा बसेका छन् ।
संघमा १ अध्यक्ष, ४ उपाध्यक्ष (एसोसिएसट, वाणिज्य, उद्योग र वस्तुगततर्फ), १ महासचिव, १ कोषाध्यक्ष, ४ सचिव र १ सहकोषाध्यक्ष, एसोसिएटतर्फ ४ सदस्य, वाणिज्यतर्फ ७ सदस्य, उद्योगतर्फ ४ सदस्य, वस्तुगततर्फ १ सदस्य रहने ब्यवस्था छ । संघको यसपालीको निर्वाचनका लागि ५७ औं साधारणसभाबाट विधान संशोधन गरेर प्रत्येक पदमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था कायम गरिएको थियो । विगतमा अध्यक्षले निर्वाचित सदस्यमध्येबाट महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष मनोनित गर्ने व्यवस्था थियो ।
संघको ३ वर्षे कार्यकालको नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र वर्तमान उपाध्यक्ष प्रमोदसिंह रानाभाट प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । महासचिवमा प्रतिमा श्रेष्ठ र विकेशलाल श्रेष्ठ, कोषाध्यक्षमा तेजराज अधिकारी र कृष्ण कर्माचार्य ‘भाइ’ तथा सहकोषाध्यक्षमा निलम वैद्य र राधिका सामरी पाण्डेबी च निर्वाचन भएको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ढकालले जानकारी दिए ।उद्योगतर्फ उपाध्यक्षमा दीपक उप्रेती र रविन्द्र घिमिरे, सदस्यमा कृष्णगोपाल महर्जन, कृष्णराज कोइराला (कृष), जगदीश दाहाल, दीपक शिवाकोटी र भुपेन्द्रप्रसाद अधिकारी र उद्योगतर्फकै महिला आरक्षण सदस्यमा मेनका श्रेष्ठ र सीतादेवी भेटवाल चुनावी मैदानमा छन् ।
वाणिज्यतर्फ उपाध्यक्षमा राजु अधिकारी र रामप्रसाद न्यौपाने, वाणिज्यको सचिवमा दिवस पराजुली र कुलप्रसाद चौलागाईं, सदस्यमा बालकृष्ण बजगाईं, विष्णुप्रसाद दाहाल, यज्ञबहादुर राय (विनोद), राजेन्द्र लामिछाने, राजदेव बानियाँ, रविन ढकाल, सन्तोष घिमिरे, होमनाथ खनालको बीचमा निर्वाचन भएको निर्वाचन अधिकृत ढकालले जनाए । यो समाचार तयार पार्दा मतगणना जारी रहेको छ ।







