मनहरीको सवारी दुर्घटनामा दुईजनाको मृत्यु

साझाकुरा
२०८१ पुष २८, आईतवार ०९:३३

हेटौंडा- मकवानपुरको पश्चिमीक्षेत्रस्थित मनहरी गाउँपालिकामा कार र स्कर्पियो एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।शनिवार वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कर्पियो र चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कारपूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरी–६ मा ठोक्किएको थियो । चालक हेटौंडा–४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिए । मृतक श्रेष्ठ राष्ट्रिय खेलकुद विकास परिषद्का कराते प्रशिक्षक हुन् ।

उनको मृत्युप्रति जिल्लास्थित खेलकुद सम्बद्ध संघसंस्थाले दुःख व्यक्त गरेका छन् ।कारमा सवार चितवनको राप्ती नगरपालिका–२ गड्यौली बस्ने ५० वर्षीय सुनिता श्रेष्ठको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी कुल १४ जना घाइते भएका थिए । जसमध्ये दुईजनाको मृत्यु भइसकेको छ भने बाँकीको उपचार जारी छ । कारलाई ठक्कर दिने स्कर्पियो चालक रौतहट घर भई पर्साको बीरगञ्ज बस्ने २० वर्षीय किशन जैसवाल फरार
रहेको डिएसपी अर्यालले जानकारी दिए ।

दुर्घटना हुँदा कारमा सवार चितवनको राप्ती–२ गड्यौली बस्ने ५५ वर्षीय ओमकुमार श्रेष्ठ, राप्ती–२ कै ५० वर्षीया सुनिता श्रेष्ठ र २१ वर्षीया सुमिना श्रेष्ठ, स्कार्पियोमा सवार पर्साको बीरगञ्ज–२ छपकैया बस्ने २६ वर्षीय पूजादेवी साह, सोही ठाउँकी ८ वर्षीया प्रियान्सी साह, २३ वर्षीय सुरदीदेवि, २१ वर्षीया निशाकुमारी साह घाइते भएका छन् ।

यसैगरी, बीरगञ्ज–२ छपकैयाका १५ वर्षीय ओम शंकर साह, १९ वर्षीय राजिवकुमार साह, १९ वर्षकी आरतिकुमारी साह, ४ वर्षीया दिव्याकुमारी साह, १६ वर्षीय सरोज शर्मा, १९ वर्षीया रोशनी शर्मा घाइते रहेको डिएसपी अर्यालले जानकारी दिए । घाइते अधिकांशको हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको डिएसपी अर्यालले बताए । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरमा पठाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*