पानी उद्योग महासंघको प्रारम्भिक साधारणसभा हेटौंडामा
हेटौंडा-नेपाल पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक साधारणसभा आउँदो माघ महिनाको १७ गते हेटौंडामा हुने भएको छ ।देशभरका जार तथा बोतलका प्रशोधित पानी उत्पादन गरी बजारमा पठाउने उद्योगको छाता संस्थाको गठन गर्न पुष २६ र २७ गते काठमाडौं बसेको उद्योगीको भेलाले माघ १७ गते प्रारम्भिक साधारणसभा राख्ने निर्णय गरेको हो । भेलाले साधारणसभाको तयारी गर्न बिक्रम लिम्बु चेमजोङको संयोजकत्वमा १९ सदस्यीय कार्यकारी तयारी समिति गठन गरेको छ ।
समितिको पूर्णबैठकले प्रारम्भिक साधारणसभा हेटौंडामा आयोजना गर्ने निर्णय गरेको हो । कार्यक्रममा देशैभरका प्रदेश संघ, विभिन्न जिल्लामा रहेका जिल्ला संघ, नगर तथा क्षेत्रीय संघका प्रतिनिधिको सहभागी रहने संयोजक चेमजोङले बताए । समितिका सदस्यमा गोकर्ण सिलवाल, गंगाप्रसाद अगंजा, गोकुल थापा, रविन्द्रमोहन अधिकारी, लिला भण्डारी, मीना दाहाल, भीमसेन खतिवडा, भरत बुढाथोकी, रुपचन्द्र थापा, रोसा श्रेष्ठ, राष्ट्रमान श्रेष्ठ, कैलाश भट्ट, दीपक श्रेष्ठ, ध्रुुब अधिकारी, बिक्रम मण्डल, रुपचन्द्र नौलखा, ध्रुबहादुर गौतम, अमराज लामा रहेका छन् । समितिको बैठकले भरत लकाई र देवनारायण चौलागाई रहेको दुई सदस्यीय कानुनी सल्लाहाकार समिति गठन गरेको छ ।







