लागूऔषध ओसारपसार बढ्दै, दैनिक पक्राउ पर्दै

साझाकुरा
२०८१ पुष २९, सोमबार १२:१३

हेटौंडा- मकवानपुर प्रहरीले ठूलो परिमाणमा चरेश, अफिम र गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा दुईजना भारतीय नागरिक र एकजना नेपाली नागरिक छन् ।मकवानपुरको थाहा नगरपालिका–११, टिस्टुङ नौखण्डे स्थित त्रिभुवन राजपथ सडकखण्डमा २१ किलो ४६० ग्राम चरेश र ३ किलो ४७० ग्राम अफिमसहित दुई भारतीय नागरिकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको हरियाणा जिल्ला, ग्राम पञ्चायत गोविन्दनगर थानासदरका २५ वर्षीय कुनाल गोथ्वाल र न्युसुवासनगर थानासदरका २० वर्षीय मनिष कुमार छन् ।

मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायवउपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार, डिएल ८ सिएक्स १२२४ नम्बरको कारमा लुकाएर चरेश र अफिम ल्याइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पालुङको टोलीले कारलाई रोकी जाँच गर्दा लागूऔषध फेला परेको हो ।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा जिम्मा लगाइएको छ ।त्यसैगरी, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेबाट १०१ किलो गाँजासहित २० वर्षीय राजन राउतकुर्मी पक्राउ परेका छन् । रातोमाटे प्रहरीचौकीबाट खटिएको टोलीले चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको डिएल १३ सी १५६१ भारतीय नम्बरको कारमा लुकाएर गाँजा ल्याउँदै गर्दा कुर्मीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिलाई आइतबार बिहान सार्वजनिक गरिएको छ । लागूऔषध ओसारपसार गर्ने समूह र तस्करीको शृंखलाबारे थप अनुसन्धान भइरहेको डीएसपी अर्यालले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*